एमाले नेता निरज आचार्य।
काठमाडौँ- नेकपा एमालेले चाडपर्व नजिकिँदै गर्दा दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि नियन्त्रण गर्न सरकार असफल भएको जनाएको छ। एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यले बुधबार जारी गरेको प्रेस नोटमा जनतालाई राहत दिनुको सट्टा सरकार आफ्नो असफलता र कमजोरी ढाकछोप गर्न विषयान्तरको राजनीति गरिरहेको आरोप लगाइएको छ।आचार्यले दैनिक उपभोग्य वस्तुको आपूर्ति तथा व्यवस्थापन र कालोबजारी नियन्त्रणमा सरकार असफल भएको दाबी गरेका छन्। उनले भनेका छन्, ‘नेपालीहरूका सांस्कृतिक चाडपर्वहरू नजिकिँदै गर्दा जनताको ढाड सेक्ने गरी मूल्यवृद्धि भइरहेको छ।’
ग्यासको सहज आपूर्ति र व्यवस्थापन गर्न नसकेर सरकारले जनतालाई सास्ती दिइरहेको आरोप लगाउँदै आचार्यले एमालेविरुद्ध दुष्प्रचार गरिएको बताएका छन्। उनका अनुसार ललितपुरका एक पौडेल थरका व्यापारीलाई एमाले केन्द्रीय सदस्यको ‘कृतिम परिचय’ दिँदै ग्यास लुकाएको आरोप लगाएर पार्टीलाई बदनाम गर्ने प्रयास भएको छ। उनले सरकार संरक्षित राजनीतिक दलका कार्यकर्ताले सामाजिक सञ्जालको दुरुपयोग गर्दै भ्रम फैलाउने, साइबर बुलिङ गर्ने तथा सामाजिक सद्भाव भड्काउने गतिविधि गरेको आरोपसमेत लगाएका छन्।
आचार्यले सरकारको असफलता र जनताको समस्याबाट ध्यान मोड्न यस्ता गतिविधि भइरहेको दाबी गर्दै त्यसको भर्त्सना गरेका छन्। उनले भ्रम र दुष्प्रचारको राजनीति लामो समय नचल्ने उल्लेख गर्दै सामाजिक सञ्जालमा फैलाइएका भ्रामक सामग्री तथा त्यसमा संलग्न व्यक्तिको विवरण प्रमाणसहित सार्वजनिक गर्दै जाने चेतावनी दिएका छन्। ‘जनतालाई भ्रमित पार्ने होइन, आफ्ना कमजोरीको जवाफ दिने साहस गर’ आचार्यले भनेका छन्।


