कृष्णभीरमा नयाँ ट्रयाक तयार, असोज १ देखि दुईतर्फी यातायात सञ्चालन

हिमाल प्रेस ३० भदौ २०८३ १५:५२ | Tuesday, September 15, 2026
कृष्णभीरमा नयाँ ट्रयाक तयार, असोज १ देखि दुईतर्फी यातायात सञ्चालन

काठमाडौँ- पृथ्वीराजमार्गको नागढुंगा-मुग्लिन सडकखण्डअन्तर्गत कृष्णभीरमा नयाँ ट्रयाक खोल्ने काम सम्पन्न भएको छ।

भाैतिक पूर्वाधार विकास मन्त्रालयको नेतृत्वमा भदौ २८ गतेदेखि उक्त सडकखण्डमा परीक्षणका रूपमा यातायात सञ्चालन भइसकेको छ। आगामी असोज १ गते बिहीबारदेखि भने दुईतर्फी यातायात सञ्चालन गरिनेछ।

भदौ १० गते बिहान आएको बाढीले कृष्णभीरको ‘सुरक्षा पर्खाल’मा क्षति पुर्‍याएको थियो। त्यसपछि भदौ १४ गते आएको अर्को बाढीले पर्खाल भत्काएपछि उक्त सडकखण्डमा यातायात पूर्ण रूपमा अवरुद्ध भएको थियो।

त्यसलगत्तै पूर्वाधार विकास मन्त्रालयले सडक विभाग र नेपाल जियोटेक्निकल सोसाइटीका प्राविधिकको सहयोगमा चार दिनसम्म द्रुत अध्ययन गरेको थियो।

विज्ञहरूले कृष्णभीरको पहाड काटेर करिब २५० मिटर लामो नयाँ ट्रयाक निर्माण गर्नु उपयुक्त हुने सुझाव दिएका थिए।

विज्ञहरूको सुझावअनुसार भदौ १९ गतेदेखि रुख कटान सुरु गरिएको थियो। त्यसपछि ३५ मिटर उचाइ र २० मिटरसम्म भित्र पहाड खनेर नयाँ ट्रयाक निर्माण गरिएको हो।

ट्रयाक निर्माणमा प्राविधिकसहित ५० जना जनशक्ति दैनिक १२ देखि १६ घण्टासम्म निरन्तर खटिएका थिए। काम सुरु भएको १०औँ दिन अर्थात् भदौ २८ गतेदेखि ग्यास बुलेटसहित केही सवारीसाधन परीक्षणका रूपमा सञ्चालनमा आएका छन्। त्यसयता बिहान र बेलुका अत्यावश्यक यातायात सञ्चालन भइरहेको छ।

हाल उक्त सडकखण्डमा ग्राभेल गर्ने, नाली निर्माण गर्ने तथा सडकलाई थप मजबुत बनाउने काम भइरहेको छ। भोलिसम्म ग्राभेलको काम पूरा गर्ने र असोज १ गते बिहानदेखि दुईतर्फी यातायात सञ्चालन गर्ने तयारी गरिएको सरकारले जनाएको छ।

प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि सरकारले सञ्चालन गरेको खोज, उद्धार, उपचार तथा राहत व्यवस्थापनबारे भदौ १७ गते प्रतिनिधिसभालाई जानकारी दिने क्रममा कृष्णभीरमा अवरुद्ध सडक भदौभित्रै सञ्चालनमा ल्याउने घोषणा गरेका थिए।

प्रकाशित: ३० भदौ २०८३ १५:५२ | Tuesday, September 15, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast