प्रभावित बन्यो ट्राफिक सचेतना कार्यक्रम : दुर्घटना १९ प्रतिशतले घटेको दावी

हिमाल प्रेस ३० भदौ २०८३ ६:२६ | Tuesday, September 15, 2026
प्रभावित बन्यो ट्राफिक सचेतना कार्यक्रम : दुर्घटना १९ प्रतिशतले घटेको दावी

काठमाडौँ- काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले सञ्चालन गर्दै आएको ट्राफिक सचेतना कार्यक्रमको प्रभावकारितासँगै सवारी दुर्घटनामा १९ प्रतिशतभन्दा बढीले कमी आएको छ ।

सवारी दुर्घटना न्यूनीकरण गरी जनधनको क्षति कम गर्ने उद्देश्यले ट्राफिक प्रहरीले विभिन्न समय, उमेर समूह र समुदायलाई लक्षित गरी सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ । सडक प्रयोगकर्तालाई ट्राफिक नियम, सुरक्षित यात्रा र सडक अनुशासनबारे जानकारी गराउने कार्यक्रमलाई निरन्तरता दिएपछि दुर्घटनामा उल्लेख्य कमी आएको कार्यालयले जनाएको छ ।

आर्थिक वर्ष २०८३/८४ मा मात्रै काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले १० हजार ७२० वटा ट्राफिक सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए ।

उनका अनुसार ट्राफिक प्रहरीको मुख्य कार्यक्षेत्र सडक भए पनि दुर्घटना न्यूनीकरणका लागि समुदायस्तरदेखि विद्यालय तथा कलेजसम्म सचेतना कार्यक्रम विस्तार गरिएको छ ।

सडक प्रयोगकर्ताको व्यवहारमा सुधार ल्याउने र ट्राफिक नियम पालना गर्ने संस्कार विकास गर्ने उद्देश्यले लक्षित कार्यक्रम सञ्चालन गरिएको उनले बताए ।

‘ट्राफिक प्रहरीको मुख्य कार्यक्षेत्र सडक नै हो । नेपालभर सडक सञ्जालको विस्तार भइसकेको र सडक प्रयोग नगरी नागरिकको दैनिक जीवन सञ्चालन नहुने भएकाले ट्राफिक प्रहरीले सडकदेखि समुदायस्तर तथा विद्यालयदेखि कलेजसम्म सचेतना कार्यक्रम सञ्चालन गर्दै आएको छौँ’, प्रवक्ता सुवेदीले भने, ‘पछिल्लो समय काठमाडौँ उपत्यकामा १९ प्रतिशतले सवारी दुर्घटनामा कमी आएको छ ।’

सडक सुरक्षा र दुर्घटना न्यूनीकरणलाई प्राथमिकतामा राखेर ट्राफिक सचेतना अभियानलाई थप प्रभावकारी बनाउँदै लैजाने कार्यालयले जनाएको छ । ट्राफिक नियमको पालना, सुरक्षित सवारी सञ्चालन र सडक प्रयोगकर्ताको जिम्मेवारीबारे निरन्तर सचेतना फैलाउन सके दुर्घटना अझै न्यूनीकरण गर्न सकिने प्रहरीको विश्वास छ ।

प्रकाशित: ३० भदौ २०८३ ६:२६ | Tuesday, September 15, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast