काठमाडौँ- उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सरकारले विपद्को सुरुवाती चरणमै गर्नुपर्ने पूर्वतयारी र व्यवस्थापन गर्न नसकेका कारण धेरै मानवीय क्षति भएको बताएका छन्।
शनिबार ललितपुरमा आयोजित एक कार्यक्रममा घिसिङले सरकारले विपद्को सुरुवाती चरणमै गर्नुपर्ने पूर्वतयारी र व्यवस्थापन गर्न नसकेको तथा समयमै प्रभावकारी कदम चालेको भए धेरै मानवीय क्षति रोक्न सकिने बताए।
उनले देशमा आइपरेको ठूलो प्राकृतिक विपद्को सामना सबै मिलेर एकजुट भई गर्नुपर्ने धारणा राखे। घिसिङले जेनजी आन्दोलनपछि अपेक्षा अनुसार सरकारले काम गर्न नसकेको, युवाहरूमा निराशा बढेको र विदेशिने दर झन् दोब्बर भएको टिप्पणी गरे।
साना कृषकलाई उपेक्षा गरी ठूला लगानीकर्तालाई मात्र फाइदा पुग्ने खालका नीति ल्याइएको उनले बताए।
उनले उज्यालो नेपाल पार्टी कुनै पनि अन्य पार्टीमा विलय नहुने र कुनै दलसँग नमिसी आफ्नै मौलिक एजेन्डासहित वैकल्पिक शक्तिका रूपमा अघि बढ्ने स्पष्ट पारे।
आगामी स्थानीय, प्रदेश तथा संघीय निर्वाचनलाई लक्षित गर्दै कोशी प्रदेशबाट वृहत भेला तथा गाउँ–गाउँमा संगठन र सदस्यता विस्तार अभियान सुरु गर्ने उनले बताए।


