काठमाडौँ- प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले न्यायपालिकाको जिम्मेवारी न्यायाधीश र अदालतका कर्मचारीका साथै कानुन व्यवसायीहरूको साझा प्रयासबाट मात्र पूरा हुन सक्ने बताएका छन्।
उच्च अदालत बार एशोसिएशन पाटनको वार्षिक साधारणसभालाई शनिबार काठमाडौँमा सम्बोधन गर्दै प्रधान्यायाधीश शर्माले बार र बेन्चबीच कुनै विषयमा भिन्न बुझाइ भए आपसी संवादमार्फत समाधान गरी नागरिकको न्याय पाउने अधिकार सुनिश्चित गर्नुपर्ने समेत बताए।
उनले न्याय पाउनु जनताको आधारभूत अधिकार भएको र स्वतन्त्र न्यायपालिका, विधिको शासन तथा शक्ति पृथकीकरण सभ्य समाज एवं नागरिक अधिकार संरक्षणका आधारशिला रहेको धारणा राखे।
अदालतका कामकारबाहीमा स्वच्छ, रचनात्मक आलोचना र कार्यसम्पादन परीक्षणलाई स्वाभाविक एवं प्रोत्साहनयोग्य मानिनुपर्ने उनले बताए। तर निहित स्वार्थ वा मनोगत आधारमा गरिने प्रहारले कर्तव्यनिष्ठ न्यायकर्मी र समग्र न्यायिक क्षेत्रको मर्यादा एवं जनविश्वासमा आँच पुग्ने भएकाले सचेत रहनुपर्ने उनको भनाइ छ।
उनले अदालती प्रक्रियालाई पारदर्शी, छरितो र सेवाग्राहीमैत्री बनाउन मुद्दाका आदेशहरू सोही दिन वेबसाइटमा अपलोड गर्ने कार्य सुरु भइसकेको जानकारी दिए।


