कहिलेकाहीँ नेकपा (एमाले) र यसका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका बारेमा कति धेरै लेखूँ भन्ने जस्तो पनि लाग्छ। तर नेपाली राजनीति, समाज, सामाजिक सञ्जाल र आमसञ्चारमा यो पार्टी र अध्यक्षलाई निकै महत्त्व दिएर टीकाटिप्पणी र आलोचना भइरहँदा म यसबाट अलग्गिन सक्दिनँ। पछिल्लो दशकमा पार्टी अध्यक्ष ओली सरकार र पार्टी सञ्चालन अनि आफ्नै कार्यशैली र अभिव्यक्तिका कारण सकारात्मक र नकारात्मक दुवै पाटाको दृष्टिकोणले अलि बढी नै चर्चाका पात्रमध्येमा पर्दछ्न्। ओली नेपाली समाज र सञ्जालमा मन पर्ने अनि नपर्ने बालकदेखि वृद्धसम्म सबैले सबैभन्दा बढी चिनेका र चर्चाको विषयवस्तु बनेका एक महत्त्वपूर्ण पात्र बनेका छन्।
एमाले नेपालको कम्युनिस्ट आन्दोलनको एउटा महत्त्वपूर्ण शक्ति हो। २००६ सालमा स्थापना भएको नेकपा करिब ७५ वर्षको हुँदै गर्दा यसमा अनेक टुक्रा देखिएका छन्। यी टुक्राहरूको पनि एउटा ठूलो टुक्रा एमाले हो। एमाले यतिबेला वैचारिक र सांगठनिक दृष्टिले अत्यन्तै संकटमा परेको देखिन्छ।
एमालेलाई आमजनता, शुभेच्छुक, कार्यकर्ता, लेखक, विश्लेषक, पत्रकार आदिले बारम्बार सचेत र सजग गराउँदा पनि नेतृत्वको घमण्ड र अहंकारले नै यो पार्टी अत्यन्तै कमजोर भएको हो। अध्यक्ष ओलीले पार्टीलाई व्यक्तिगत कम्पनीजस्तो बनाउँदा आफ्नै संगठित कार्यकर्ताले समेत एमालेलाई छोड्दै गएका हुन्।नेपालमा २०५१ सालमा मनमोहन अधिकारीको नेतृत्वमा बनेको सरकारबाहेक कुनै पनि कम्युनिस्टका सरकार लोकप्रिय बन्न सकेनन्।
२०७४ सालमा ओलीले लोकप्रियताको केही उचाई प्राप्त गर्न खोजेका थिए तर उनको आफ्नै कारणले त्यो सरकार ढल्यो। एमाले देशको ठूलो कम्युनिस्ट पार्टी हुँदाहुँदै पनि नेतृत्वकै अहंकार र दम्भले ओरालो लागेर आजको परिस्थिति भोग्नुपरिरहेको छ। एमालेको नेतृत्वले राजनीतिक दलमा हुनुपर्ने सामान्य अंगहरू विचार, आस्था, नीति, नेतृत्व, संगठन, कार्यकर्ता, शुभेच्छुक र जनता भन्ने कुरालाई महत्त्व नदिनाले वा भुल्नाले आजको जटिल सांगठनिक अवस्था भोग्नुपरेको हो। पार्टी अध्यक्ष ओली र तिनका वरिपरि रहेका केन्द्रीय नेतृत्व जनताप्रति जिम्मेवार र जवाफदेही बन्न सकेनन्।
ओली सरकारको नेतृत्व गरुन्जेल अदिकांश समय प्रहसन, हास्यव्यङ्ग्य, बकम्फुस, उट्पट्याङ, उरन्ठेउला गफमा व्यतीत गरे। सत्ताको म्युजिकल चेयरले गर्दा एमालेले जनतालाई बिर्सियो र २०७९ सालको आमनिर्वाचनमा करिब २८ लाख मत प्राप्त गरेको एमालेले २०८२ को आमनिर्वाचनमा १४ लाखमा चित्त बुझाउनुपर्यो।
आज पार्टी कमजोर भएकै कारण ओलीले थुप्रै दोष र आरोप भोग्नुपरिरहेको छ। ओलीले आफ्नो बचाउ गर्दै विभिन्न अभिव्यक्ति दिँदै अरूलाई दोष लगाए पनि उनी आफैँले यो खाडल निम्त्याएको हुनाले त्यसलाई धेरैले साथ दिन अस्वीकार गरेका छन्। पार्टीमा ओली कमजोर हुँदै गएकोले हिजो उनैले प्रेरित गरेका अरिंगालहरू आज किर्ना भएर झर्दै छन्।
तीनपटकसम्म प्रधानमन्त्री बनेका ओली राजनीतिक योगदानका आधारमा भन्दा पनि अभिव्यक्ति शैलीका कारण मिडिया र सञ्जालमा अलि बढी चर्चामा आउँछन्। ओलीको स्वभावमा अहंकार,दम्भ र घमण्ड ज्यादा छ। उनको अभिव्यक्ति शैलीमा आलोचक र विरोधीलाई अत्यन्त तुच्छ शब्दको प्रयोग गर्ने किसिमको छ। उनका सम्बोधन र भाषणहरूमा उखानटुक्काहरूको प्रयोग हुने हुनाले उनको अभिव्यक्ति शैलीका बारेमा खण्डन र टिप्पणी भएका हुन्। देशको प्रधानमन्त्री भइसकेको व्यक्ति र एउटा जिम्मेवार राजनीतिक दलको अध्यक्ष भएको हुनाले उनका व्यक्तिगत वा सार्वजनिक गतिविधि र अभिव्यक्तिलाई समाज,सञ्चार र सन्जालले विशेष चासोका साथ हेरिनु पनि स्वाभाविकै हो।
ओलीका भाषण र अभिव्यक्ति शैलीमाथि नेपाल संस्कृत विश्वविद्यलयबाट सानुमाया खड्काले विद्यावारिधि समेत गरेकी छन्। उनले ओलीका अभिव्यक्ति, उखानटुक्का र भाषणशैलीमा हसाउने विषयवस्तु मात्र नभएर तिनमा गहिरो पूर्वीय दर्शन र दार्शनिक व्यञ्जना पनि हुन्छ भनेर निष्कर्ष निकालेकी छन्। उनले यसैलाई आधार बनाएर ओलीले २०४८ देखि २०७४ सम्मका महत्त्वपूर्ण सम्बोधन र भाषणहरू संकलन गरेर संसदमा ओली नामक पुस्तक समेत प्रकाशित गरेकी छिन्। ओली नेपाली राजनीतिमा मात्र नभएर भाषिक अभिव्यक्ति,भाषणकला,उखानटुक्का र बिम्ब र प्रतीकको प्रयोगका बारेमा अध्ययन गर्ने पाठक, विद्यार्थी र अध्येताहरूका लागि पनि विषयका स्रोत बन्न सक्छन्।
समयसमयमा ओलीले सम्बोधन र भाषणका क्रममा प्रयोग गरेका विभिन्न बिम्ब र प्रतीकहरूका बारेमा निकै चर्चा, टिप्पणी र बहस हुने गर्दछ। उनले कहिले आफ्ना कार्यकर्तालाई अरिंगाल बन्न आग्रह गर्छन् भने कहिले किर्नाको संज्ञा पनि दिन्छन्। उनले कहिले आफूले बारुलो खाएको उदाहरण पनि दिएका थिए। ओलीले प्रयोग गरेका अरिंगाल, बारुलो र किर्नाका पार्टीको संगठनमा प्रतीकात्मक अर्थ रहेको छ। ओलीले प्रयोग गरेको अरिंगालका बारेमा सन्दर्भ आउँदा मलाई आफ्नै बाल्यकालीन घटना पनि स्मरण भए।
बाल्यकालमा उटपट्याङ गर्ने मन लाग्दो रहेछ। स्कुल जाँदाबाहेक बिदाको दिन प्रायः गाईबस्तु चराउन वनपाखा जानुपर्थ्यो। गाईबस्तुलाई जंगलमा लगाइदिएर समय कटाउनका लागि साथीहरूसँग एकापसमा खेल खेल्ने, पिङ बाट्ने र खेल्ने, पौडी खेल्ने, अरिंगाल हान्ने आदि गरिन्थ्यो। मैले साथीसँग मिलेर धेरै पटक अरिंगाल हानेको छु। अरिंगाल प्रायः अग्लो रूखमा र अप्ठ्यारो भिरमा गोलो बनाएर बसेको हुन्छ। एउटा गोलोमा सयौँ अरिंगाल हुन्छन्। उनीलाई जिस्क्याउँदा वा आक्रमण गर्दा प्रत्याक्रमण गर्न आउनु स्वाभाविकै पनि हो। हामी अरिंगाल खानका लागि भन्दा पनि उट्पट्याङ गर्नका लागि अलि टाढाटाढाबाट ढुंगाले हानेर गोलो फुटाउने प्रयत्न गर्थ्यौँ।अरिंगाललाई धेरै पटक जिस्काउँदा धेरै टाढासम्म लखेटेर टोक्न आउँथे र हामी बच्नका लागि अलि टाढा रहेको खोलासम्म दौडिँदै गएर पानीमा डुबुल्कीसमेत मार्थ्यौँ। एकपटक मेरो साथीलाई त धेरै अरिंगालले टोकेर ज्वरो समेत आएको थियो भने त्यही बेला उसका घरका अभिभावकले सजाय पनि दिएका थिए।
अरिंगाललाई अङ्ग्रेजीमा Hornet भनिन्छ। यो विषालु उड्ने किरा हो। यो मौरी प्रजातिअन्तर्गत नै पर्दछ। यो मौरीभन्दा धेरै ठूलो, हिंस्रक र खतरनाक हुन्छ। यो प्रायः कालो र पहेँलो वा खैरो रङको हुन्छ। यसको गोटी निकै विषालु हुन्छ। अरिंगालको गोलोमा रानु, कर्मी र भाले गरी तीन किसिमका अरिंगाल हुन्छन्। यिनीहरू रूखको हाँगा,घरका भित्ता वा ओडारमा ठूला गुँड बनाएर समूहमा बस्छन्।नेपालको मध्य पहाडी र चुरे/भावर क्षेत्रमा अरिंगाल पाइन्छ।नेपालको कतिपय समुदाय र ग्रामीण भेगतिर अरिंगालको गोलाबाट लाभा वा बच्चा निकालेर तारेर वा भुटेर खाने चलन पनि छ।अरिंगालले टोकेमा अत्यन्तै दुख्छ र एकैपटक धेरै अरिंगाल टोके भने त ज्यान जान पनि सक्छ।नेपालमा अरिंगालका ११ प्रजाति छन् भनेर बताएको पाइन्छ।
ओलीले २०७५ सालमा प्रधानमन्त्री हुँदा आफ्नो सरकारका विरुद्धमा विरोधीहरूबाट अलि बढी आलोचना र विरोध भएपछि आफ्ना कार्यकर्तालाई सरकारको बचाउ गर्न र विरोधीलाई डटेर सामना गरी प्रतिकारमा उत्रन अरिंगालजस्तो हुन आग्रह गरेका थिए। वास्तवमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीको आग्रहलाई स्विकार्दै केही कार्यकर्ता अरिंगालजस्ता पनि भए। एमालेका कार्यकर्ता निश्चित विचार र संगठनबाट चल्नुपर्नेमा पार्टी अध्यक्ष ओलीका अन्धभक्त हुन थाले। यसले एमालेमा विवाद जन्म्यो। एकथरी कार्यकर्ताले ओलीको जयजयकार गर्न थालेपछि ओलीको अहंकार र दम्भको त सीमा नै रहेन।
वास्तवमा ओली त अरिंगालको गोलोभित्रको रानुजस्तो बनाइए। यसले गर्दा एमालेले सत्ताभन्दा बाहिर नेपाली जनतालाई देख्न सकेन। पहिले एमालेको तल्लो तहका भनिएका कार्यकर्ता र आमजनतासँग जस्तो सम्बन्ध थियो, त्यो तिनै अरिंगालकै कारण टुट्यो। सरकारको नेतृत्व गर्दा सबैभन्दा पछिल्लो कार्यकालमा त ओलीले युवाका आवाज र आक्रोश सुन्नै चाहेनन्।
जेनजी आन्दोलन र विद्रोहका कारण २०८२ को भदौ २४ गते सरकारको नेतृत्व गर्दागर्दै ओली सरकार छोडेर भाग्ने परिस्थिति सिर्जना भयो। वास्तवमा जनता र कार्यकर्ताबाट टाढा भएका ओलीलाई आफैँले तयार गरेका ती अरिंगालहरूले जोगाउन सकेनन्। ओलीलाई आफ्नै कर्मी अरिंगालहरूले घेर्दा बाहिरको आवाज सुन्न सकेनन्। ओली सत्तामा रानु अरिंगालजस्तै भएर बसे। लोकतान्त्रिक व्यवस्थामा कुनै पनि राजनीति दलमा नीति, नेतृत्व, संगठन, कार्यकर्ता र शुभेच्छुक हुनुपर्नेमा एमाले त बा र छोराछोरीको मात्र संगठन जस्तो बन्यो।
नेतृत्वले कार्यकर्ता, शुभेच्छुक, सर्वसाधारण नागरिकका आवाज र पीडा बुझ्न सकेन। पार्टीले आमनागरिकको विश्वास गुमाएपछि संगठन र नेतृत्व कमजोर भयो अनि अरिंगालहरूले पनि छोड्दै जान थालेका छन्। यो स्वार्थी संसारमा हिजो ओलीलाई बा भन्दै भगवान्कै रूप दिएर जयजयकार गर्नेहरू नै आज उनैलाई राक्षस बनाइरहेका छन्। हिजो ओलीको सबैभन्दा धेरै प्रशंसकहरू आज सबैभन्दा विरोधी बनेका छन्।
ओलीले विगतमा जसलाई अरिंगाल बनाएका थिए, आज तिनीहरूलाई नै उनी किर्नाको संज्ञा दिएका छन्। केन्द्र वा सत्ताको वरिपरि बसेर अरिंगालले जुन किसिमले पार्टी वा संगठन बलियो बनाउनुपर्ने थियो त्यो नगरेको देख्दा उनले हिजोका ती अरिंगाललाई किर्ना भनेर आरोप लगाएका छन्। राजनीतिक दललाई अरिंगाल र किर्नाको घर/गुँड/आश्रय स्थल बनाउँदा एमालेको वैचारिक र सांगठनिक जनविश्वास गुम्दै गएको हो। राजनीतिक दलमा रहेका कार्यकर्तालाई किर्नाजस्तो परनिर्भर बनाइन्छ भने तिनीहरू स्वाभाविक रूपमा अघाइसकेपछि छोडेर जान्छन्। ओली स्वयंले राजनीतिलाई सेवा नभई पेसाजस्तो बनाउँदा उनका केही कार्यकर्ता किर्ना, उपियाँ, जुम्रा जस्ता परजीवी भएका हुन्।
किर्ना भनेको पनि एउटा परजीवी हो। यो जुम्रा वा उपियाँजस्तै चौपाया वा जनावरको शरीरमा बसेर रगत चुस्ने गर्दछ। किर्ना गाई, भैंसी, बाख्रा, कुकुर, बिरालोजस्ता घरपालुवा जनावरको कानको पछाडि, गर्धन र खुट्टाको कापमा टाँसिएर बस्छ। यसको मुख्य खाना जनावरको रगत हो। रगत चुसेपछि यसको पेट बेलुनजस्तो ठूलो, गोलो र फुस्रो रङको हुन्छ। यसले जब धेरै रगत खान्छ अनि अडिन नसकेर आफैँ खस्छ। ओलीले पनि सत्ता रहुन्जेल केन्द्रको नजिक रहेर अनेक किसिमका व्यक्तिगत लाभ लिने अनि जब आफ्नो स्वार्थ पूरा हुन्छ त्यसपछि नेतृत्वलाई गाली गर्दै हिँड्नेहरूलाई किर्नाको संज्ञा दिएका हुन्। अहिले एमालेभित्र वैचारिक वा सांगठनिक रुपमा जेजस्ता मतभेद र विरोध देखिएका छन्, यसका मुख्य कारक भनेका ओली नै हुन् भन्ने धेरैको आरोप छ।
ओलीको विचार, स्वभाव र शैलीका बारेमा आलोचना गरिरहँदा उनको नेपाली राजनीतिमा योगदान छैन भन्न खोज्यो भने उनीप्रति धेरै अन्याय हुन्छ। नेपालमा कम्युनिस्ट पार्टीको संगठन निर्माण र विस्तार अनि लोकतान्त्रिक आन्दोलन र राजनीतिक परिवर्तनका लागि उनको योगदान छ। ओली राजनीतिक कैदीका रुपमा चौध वर्ष जेल जीवन बिताएका व्यक्ति हुन्। हुन त उनको यो चौध वर्ष जेलजीवनका बारेमा विवाद पनि छन्। उनका विरोधीहरूले झापा आन्दोलनका क्रममा जमिनदारको शिरच्छेदन गरेर फौजदारी ज्यान मुद्दामा दोषी ठहर भएर जेल बसेका हुन् भनी आरोप लगाउँछ्न्।
ओली प्रधानमन्त्री हुँदा देश र राष्ट्रका पक्षमा गरिएका मुख्य दुई सकारात्मक काम बिर्सिन सकिँदैन। उनले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नेपालको राजनीतिक र प्रशासनिक नक्सा जारी गर्नुका साथै भारतले नाकाबन्दी गर्दा डटेर सामना गरी चीनसँग पारवहन सम्झौता गरेका थिए। त्यस्तै उनी प्रधानमन्त्री हुँदा संख्या र सत्ताको उन्मादमा दुईदुई पटक संसद विघटन गरेर राजनीतिक क्षति गराएको घटना र जेनजी आन्दोलन/विद्रोहलाई रोक्न प्रयास नगरेर देशले ठूलो जनधनको क्षति भोग्नुपरेको दु:खद घटना स्मरण गर्दा उनलाई सम्झनुपर्ने नै के छ र जस्तो पनि लाग्छ।
अब ओलीले एमालेलाई नेपालको राजनीतिक दलका रूपमा पुनर्जीवित गराउने नै हो भने आफूले अभिभावकीय भूमिका निर्वाह निर्वाह गर्ने गरी पार्टीको सम्पूर्ण सांगठनिक संरचनालाई परिवर्तन गर्नुपर्छ। कसैलाई हनुमान, भक्त, छोराछोरी,अरिंगाल र किर्ना बनाएर पार्टी बलियो हुँदैन। एमालेमा अहिलेको कमजोर परिस्थिति आउनुमा मुख्य कारक ओली नै भए पनि अन्य थुप्रै कारक पनि छन्। अहिलेकै संरचना यथावत् राखी पार्टी अध्यक्षबाट ओली हटेर मात्र पार्टी नयाँ हुन सक्दैन अनि पार्टी बलियो र विश्वासिलो पनि बन्दैन।
एमाले नेतृत्वदेखि कार्यकर्तासम्म अनुशासन, विचार, संगठन आदिमा जति पनि दाग लागेका व्यक्तिहरू छन्, ती सबै बाहिरिनुपर्छ। विचार, विधि, विधान र नीतिलाई केन्द्रमा राखेर पार्टी निर्माण र सञ्चालन गरे मात्र एमाले नयाँ बन्न सक्छ। पार्टी दर्शन र विधिले चल्नुपर्छ। राजनीतिक दलमा कोही पनि हनुमान, भक्त, आवारा, अरिंगाल, बारुला, किर्ना बन्नु हुँदैन। राजनीतिक दलमा विचारबाट निर्देशित भएर निश्चित विधि र नीतिद्वारा देश र जनताका लागि नि:स्वार्थ सेवा गर्ने व्यक्तिहरू मात्र संगठित हुनुपर्छ। विश्वव्यापीकरण, डिजिटल र एआईको युगमा एमालेले सीमित घेराभित्रको कोठे र गुटबन्दीको राजनीति त्याग्नुपर्छ। एमालेले समयको मागअनुसार आफ्नो विचार, नीति र विधिमा परिवर्तन गर्दै जानुपर्छ।
(भर्जिनिया,अमेरिका)



