काठमाडौँ- नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोली अर्को इतिहास रच्ने तयारीमा छ। मलेसियामा जारी तेस्रो संस्करणको एसीसी प्रिमियर कपमा नेपालसामु इतिहास रच्ने मौका छ।
शनिबार हुने फाइनल खेलमा युनाइटेड अरब इमिरेट्स (यूएई) लाई हराउन सके नेपाल लगातार दोस्रोपटक एकदिवसीय ढाँचाको एसीसी प्रिमियर कप जित्ने पहिलो टोली बन्नेछ।
नेपाल सन् २०२३ मा घरेलु मैदानमा आयोजना भएको ५० ओभरको एसीसी प्रिमियर कप च्याम्पियन टोली थियो। सन् २०२४ मा आयोजना भएको प्रिमियर कप टी–२० फम्र्याटमा खेलाइएको थियो।
ओमानमा भएको उक्त प्रतियोगितामा नेपालको प्रदर्शन भने साधारण रह्यो। सेमिफाइनलसम्म पुगेको नेपालले चौथो स्थान हासिल गरेको थियो। यसपालि भने सानदार पुनरागमन गर्दै नेपालले फाइनलमा स्थान बनाइसकेको छ।
तीन वर्षअघिको इतिहास दोहोर्याउने मौका
पहिलो संस्करणको उपाधि जित्नेक्रममा नेपालले फाइनलमा यूएईलाई सात विकेटले हराएको थियो। नेपाली टोली फेरि तीन वर्षअघिको इतिहास दोहोर्याउँदै दोस्रोपटक एकदिवसीय प्रारूपको एसीसी प्रिमियर कपको उपाधि जित्ने योजनामा छ।
नेपालले दोस्रो पटकको प्रिमियर कपमा भने अपेक्षाकृत प्रदर्शन गर्न सकेन। टी–२० फम्र्याटको उक्त प्रतियोगितामा नेपाल चौथो स्थानमा खुम्चिएको थियो।
सन् २०२४ मा आयोजित त्यस संस्करणको प्रिमियर कपमा ओमानलाई हराउँदै यूएई च्याम्पियन बनेको थियो। ऊ यसपालि पनि उपाधि रक्षा गर्ने योजनामा छ।
युएईले जारी संस्करणमा सानदार प्रदर्शन गर्दै नेपालसँगको उपाधि भेट पक्का गरिसकेको छ। उसले समूह चरणको चारवटै खेलमा एकतर्फी जित निकालेको थियो।
सेमिफाइनलमा यूएईले हङकङलाई सात विकेटले हराएको थियो। यूएई अब फाइनलमा पनि आफ्नो आफ्नो लय जारी राख्ने सोचमा छ। यद्यपि विश्वस्तरीय बलिङ रहेको नेपालविरुद्ध जित निकाल्न यूएईलाई सहज हुने छैन।
समूह चरणमा हङकङबाहेक नेपालले तीनवटा खेलमा सानदार जित दर्ता गरेको थियो। सेमिफाइनलमा ओमानविरुद्ध नेपालको बलिङ प्रदर्शन थप उच्कृष्ट रह्यो।
१४७ रन बनाउँदा पनि नेपालले ओमानसँगको सेमिफाइनल खेलमा ८७ रनको फराकिलो जित निकाल्यो। उक्त खेलमा नेपालले ओमानी टिमलाई ६० रनमै अलआउट गर्यो।
नेपाल अब यूएईविरुद्ध पनि जित निकालेर दोस्रोपटक एसिया कपमा स्थान बनाउन चाहन्छ। एसीसी प्रिमियर कप २०२६ मा तुलनात्मक रूपमा यूएई नेपालको सर्वाधिक कठिन प्रतिद्वन्द्वी हो।
विगतमा भएका महत्वपूर्ण प्रतियोगितामा नेपालका लागि यूएई बाधक बनेको थियो। सोही कारण यसपटक नेपालले उत्कृष्ट योजनाका साथ फाइनल खेल्नुपर्ने नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वक्रिकेटर दीपेन्द्र चौधरीको धारणा छ।
उनले फाइनल खेलमा मलेसियाको पिचको अवस्थाले पनि धेरै फरक पार्ने बताए। ‘फाइनल हुने मैदानमा धेरै पिच छन्। कुन पिचमा खेल हुन्छ, त्यसले पनि धेरै कुराको निर्भर गर्नेछ। सेमिफाइनल खेलिएकै पिचमा फाइनल पनि खेलाइएमा नेपाललाई धेरै फाइदा मिल्नेछ,’ नेपाल क्रिकेट संघको खेलाडी छनोट समितिका पूर्वसंयोजर्कसमेत रहेका चौधरीले भने।
‘स्पिन पिच’मा फाइनल खेल भएमा नेपालको जित प्रतिशत ७० रहेको उनको विश्लेषण छ। नेपालभन्दा बढी दबाब यूएईलाई रहेको उल्लेख गर्दै उपाधि जित्ने हो भने नेपालका शीर्षक्रमका ब्याटरले राम्रो प्रदर्शन गर्न आवश्यक रहेको चौधरीले बताए।
‘पछिल्लो केही वर्षयताको नतिजा हेर्ने हो भने यूएईविरुद्ध नेपाल हाबी भइरहेको छ। त्यसकारण हामीभन्दा उनीहरू दबाबमा छन्। त्यसो भन्दैमा हामी नै जित्छौँ भन्ने होइन, नेपालको तर्फबाट शीर्ष क्रमका ब्याटरहरूबाट ठूलो पारी देख्न पाइएको छैन। फाइनलमा ओपनिङ जोडी चल्न सके नेपालले उपाधि जित्ने सम्भावना धेरै छ,’ उनले भने।
यूएईको टोलीमा अधिकांश नयाँ खेलाडी छन्। उनीहरूभन्दा अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाली खेलाडी अनभवी छन्। नेपालले फाइनलमा त्यसको फाइदा उठाउनसक्नुपर्ने पूर्वक्रिकेटर चौधरीको भनाइ छ।
नेपाल र यूएईबीचको विगत
एकदिवसीय अन्तर्राष्ट्रिय हालसम्म नेपाल र यूएईबीच १९ खेलमा प्रतिस्पर्धा भएको छ। जसमा नेपालले ११ र यूएईले ८ खेलमा जित निकालेको इतिहास छ।
यूएईसँग खेलिएको पछिल्लो पाँच एकदिवसीय खेलमध्ये नेपाल तीन खेलमा विजयी भएको छ। नेपालले यूएईविरुद्ध अन्तिमपटक गत मे महिनामा खेलेको थियो।
उक्त आईसीसी विश्वकप लिग–२ शृंखलाको खेलमा नेपाल ६ रनले विजयी भयो। सोही शृंखलाको पहिलो खेलमा नेपालले यूएईलाई ३७ रनले हराएको थियो। नेपाल सोही प्रदर्शन शनिबार हुने फाइनलमा पनि कायमै राख्ने योजनामा छ।


