चीनमा कार्गो जहाजमा आगो लाग्दा २० जनाको मृत्यु

हिमाल प्रेस २५ भदौ २०८३ २०:१६ | Thursday, September 10, 2026
चीनमा कार्गो जहाजमा आगो लाग्दा २० जनाको मृत्यु

काठमाडौँ- चीनको एक बन्दरगाहमा रोकेर राखिएको विदेशी ध्वजाबाहक कार्गो जहाजमा आगो लाग्दा कम्तीमा २० जनाको मृत्यु भएको र पाँच जना बेपत्ता भएको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन्।

पूर्वी समुद्री केन्द्र छिङदाओमा सामान लोड गर्ने स्थानमा रहेको कार्गोमा आगो लाग्दा कम्तीमा २० जनाको मृत्यु भएको चीनको राष्ट्रिय प्रसारक सीसीटीभीले जनाएको छ।

सीसीटीभीका अनुसार जहाजमा चालकदलका सदस्यासहित ४२ कर्मचारी थिए।

आगलागीपछि १७ जनालाई सकुशल उद्धार गरिएको छ। पाँच जनालाई घाइते अवस्थामा उद्धार गरिएको छ भने थप पाँच जना अझै बेपत्ता छन्।

२० जना घटनास्थलमा मृत भेटिएको सीसीटीभीले जनाएको छ।

‘सन्डोङ प्रान्तको छिङदाओमा रहेको बेइहाई सिपबिल्डिङ कम्पनी लिमिटेडको विदेशी कार्गो जहाज मर्मतका लागि बन्दरगाहमा आएका बेला आगो लाग्दा ठूलो जनधनको क्षति भएको छ,’ सिन्ह्वाले आगलागीबारे भनेको छ।

राष्ट्रपति सी जिनपिङले तत्काल खोज र उद्धार अभियान सञ्चालन गर्न आह्वान गर्दै ‘घटनामा जिम्मेवारहरूलाई कडा रूपमा जवाफदेही बनाउनुपर्ने’ कुरामा जोड दिएको सिन्ह्वाले उल्लेख गरेको छ।

छिमेकी आवासीय परिसरका प्रत्यक्षदर्शीहरूले जहाजबाट बाक्लो धुवाँ आएको तर विस्फोटको आवाज नसुनेको बताएका छन्।

सिन्ह्वाले घटनास्थलको एउटा तस्बिर सार्वजनिक गरेको छ जसमा ओशन मेलोडी नामक ठूलो जहाज ‘डक’मा रहेको र अगाडि धेरै दमकल गाडीहरू आगलागी नियन्त्रण गर्न भेला भएको देखिन्छ।

ओशन मेलोडी १९० मिटर (६२३ फिट) लामो तथा धेरै सामान बोक्ने लाइबेरियाली जहाज हो।

छिङदाओ प्रमुख अन्तर्राष्ट्रिय समुद्री केन्द्र हो। यो १८० भन्दा बढी देश र क्षेत्रका ७०० भन्दा बढी बन्दरगाहहरूसँग जोडिएको छ।

प्रकाशित: २५ भदौ २०८३ २०:१६ | Thursday, September 10, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast