फाइल तस्बिर
काठमाडौँ- कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले जेनजी सहिद स्मृति दिवसको कार्यक्रममा दिएको अभिव्यक्तिप्रति क्षमा मागेकी छन्।
बिहीबार राष्ट्रियसभा बैठकमा राष्ट्रियसभाले कानुन निर्माणमा बाधा खडा गरेको भन्ने अभिव्यक्तिप्रति सांसदहरुले आपत्ति जनाएपछि मन्त्री गौतमले क्षमा मागेकी हुन्।
आफ्नो अभिव्यक्तिले राष्ट्रियसभा सदस्यहरूको भवानमा चोट पुगेको भन्दै रोष्ट्रमबाट माफी मागिन्।
मन्त्री गौतमले आफूले प्रतिनिधिसभामा दुईतिहाइ बहुमत भए पनि कानुन निर्माण प्रक्रिया प्रतिनिधिसभाको बहुमतले मात्र पूर्ण नपुग्ने र कानुन निर्माणका लागि प्रतिनिधिसभा, राष्ट्रिय सभा हुँदै राष्ट्रपतिबाट प्रमाणीकरण हुनुपर्ने एउटा जटिल र संवैधानिक प्रक्रिया पूरा गर्नुपर्ने तथ्य मात्रै बताएको धारणा राखिन्।
आफूले तथ्यपरक कुरा मात्र राखेको र राष्ट्रियसभाले असहयोग गर्यो भनेर कुनै पनि आपत्तिजनक शब्द प्रयोग नगरेको उनले बताइन्।
उनले आफू राजनीतिक व्यक्ति भएकाले आफ्ना भनाइहरूलाई पत्रकार तथा सामाजिक विश्लेषकहरूले फरक–फरक ढंगले व्याख्या गरेको तर्क गरिन्।
मन्त्री गौतमले आफूले नबोलेका कुरा वा मिडियाले आफ्नै ढंगले गरेका व्याख्याप्रति आफू जिम्मेवार हुन नसक्ने उल्लेख गरिन्। आगामी दिनमा राष्ट्रियसभा र सरकार मिलेर समन्वयका साथ कानुन निर्माणमा अघि बढ्नुपर्नेमा उनले जोड दिइन्।


