काठमाडौँ- भीषण बाढीका कारण रसुवागढी, बेत्रावती र त्रिशूली क्षेत्रमा क्षतिग्रस्त नेपाल टेलिकमको फाइबर नेटवर्कको पहिलो चरणको सेवा पुनःसञ्चालन कार्य सम्पन्न भएको छ।
बाढीका कारण रसुवागढी र बेत्रावतीमा एक/एक गरी दुईवटा अप्टिकल लाइन टर्मिनल (OLT), रसुवागढीमा एक, बेत्रावतीमा एक र त्रिशूलीमा तीन गरी पाँचवटा फाइबर डिस्ट्रीब्युसन क्याबिनेट (FDC) मा क्षति पुगेको थियो।
त्यस्तै, करिब १२८ किलोमिटर एरियल अप्टिकल फाइबर केबल बाढीले बगाएपछि ती क्षेत्रमा सञ्चालित एक हजार ५४४ वटा एफटीटीएच (FTTH) लाइन पूर्ण रूपमा प्रभावित भएका थिए।
विपद् लगत्तै प्राविधिक जनशक्ति तथा आवश्यक स्रोतसाधन परिचालन गरी मर्मत कार्यलाई तीव्रता दिइएको टेलिकमले जनाएको छ। हालसम्म प्रभावितमध्ये एक हजार ९३ वटा एफटीटीएच लाइन पुनःसञ्चालनमा ल्याइएको छ।
एक हजार ९३ वटा लाइन पुनःसञ्चालनमा आएसँगै नेटवर्क पुनःसञ्चालनको पहिलो चरणको काम सम्पन्न भएको नेपाल टेलिकमले जनाएको छ।
बाँकी रहेका लाइनहरू सम्बन्धित क्षेत्रको भौगोलिक अवस्था, बस्तीको अवस्था, प्राविधिक सम्भाव्यता तथा ग्राहकको मागका आधारमा क्रमशः सञ्चालनमा ल्याइने कम्पनीको भनाइ छ।
प्राकृतिक विपद्का कारण दूरसञ्चार पूर्वाधारमा ठूलो क्षति पुगे पनि सेवाग्राहीलाई यथाशीघ्र गुणस्तरीय दूरसञ्चार सेवा उपलब्ध गराउन मर्मत तथा पुनःसञ्चालनको कामलाई प्राथमिकतामा राखिएको टेलिकमले जनाएको छ।
सेवा अवरुद्ध भएको अवधिमा सेवाग्राहीले देखाएको धैर्यता र विश्वासका लागि नेपाल टेलिकमले आभार व्यक्त गरेको छ।


