बाबुरामले यसरी सम्झिए जेनजी विद्रोह

हिमाल प्रेस २३ भदौ २०८३ ११:१५ | Tuesday, September 8, 2026
बाबुरामले यसरी सम्झिए जेनजी विद्रोह

काठमाडौँ- पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले जेनजी विद्रोहले लोकतन्त्रमा पलाएको कुशासन र भ्रष्टाचारको ‘लेउ/खिया’ पखाल्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताएका छन्।

जेनजी सहिद दिवस तथा ऐतिहासिक जेनजी विद्रोहको प्रथम वार्षिकीका अवसरमा सामाजिक सञ्जालमार्फत शुभकामना तथा श्रद्धाञ्जली व्यक्त गर्दै भट्टराईले यस्तो धारणा राखेका हुन्।

उनले जेनजी विद्रोहमा शहादत प्राप्त गर्ने सबैप्रति श्रद्धाञ्जली अर्पण गर्दै विद्रोहमा सहभागी योद्धाहरूप्रति उच्च सम्मान व्यक्त गरेका छन्।

भट्टराईले माओवादी सशस्त्र संघर्षका क्रममा शहादत प्राप्त गरेका सहिदमध्ये पार्टीमा जिम्मेवारीका हिसाबले उच्च तहमा रहेका नेता सुरेश वाग्लेको शहादत दिवस पनि आजै परेको स्मरण गरेका छन्। उनले वाग्लेप्रति श्रद्धासुमन व्यक्त गरेका छन्।

उनका अनुसार इतिहासका महत्त्वपूर्ण घटना र व्यक्तिहरू आवश्यकता र आकस्मिकताको योगबाट जन्मिने गर्छन्। त्यसैले जेनजी दिवस र सुरेश वाग्लेको स्मृति दिवस एकै दिन पर्नुलाई उनले नेपाली इतिहासको त्यस्तै संयोगका रूपमा व्याख्या गरेका छन्।

भट्टराईले नेपाली जनक्रान्तिको सांगोपांगो इतिहास अझै लेखिन बाँकी रहेको उल्लेख गर्दै त्यसको वस्तुगत मूल्यांकन भविष्यमा हुने बताएका छन्।

उनका अनुसार वि.सं १९९० को दशकदेखि सुरु भएको आधुनिक लोकतान्त्रिक आन्दोलनका विभिन्न खुड्किलामध्ये माओवादी सशस्त्र संघर्षले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनामा निर्णायक भूमिका खेलेको थियो।

त्यसैगरी उनले जेनजी विद्रोहले लोकतन्त्रमा समयक्रममा पलाएको कुशासन र भ्रष्टाचारविरुद्ध महत्वपूर्ण हस्तक्षेप गरेको बताएका छन्।

‘लोकतन्त्र विभिन्न ऐतिहासिक खुड्किला हुँदै अघि बढ्ने अविरल प्रक्रिया हो’ भन्दै भट्टराईले लोकतन्त्रलाई निरन्तर सुधार र परिमार्जन हुँदै अघि बढ्ने प्रक्रियाका रूपमा चित्रण गरेका छन्।

प्रकाशित: २३ भदौ २०८३ ११:१५ | Tuesday, September 8, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast