भोटेकोशी बाढीमा परी निधन भएकाहरूको सम्झनामा दीप प्रज्वलन

हिमाल प्रेस २२ भदौ २०८३ २०:५४ | Monday, September 7, 2026
भोटेकोशी बाढीमा परी निधन भएकाहरूको सम्झनामा दीप प्रज्वलन

काठमाडौँ- रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको बाढीमा परेर ज्यान गुमाएका स्वदेशी तथा विदेशी नागरिकको सम्झनामा नेपाल पर्यटन बोर्डले दीप प्रज्वलन गरेको छ।

बाढीमा परी ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्नुका साथै बेपत्ता व्यक्तिको शीघ्र उद्धार र सकुशलताको कामना गर्दै नेपाल पर्यटन बोर्डमा सोमबार साँझ दीप प्रज्वलन गरिएको हो।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलको उपस्थितिमा आयोजित दीप प्रज्वलन कार्यक्रममा मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौला, पर्यटन विभागका महानिर्देशक रामकृष्ण लामिछाने, विपद् व्यवस्थापन संयोजक हिक्मतसिंह ऐर, नेपाल पर्यटन बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत दीपकराज जोशी, बोर्डका सदस्य सहदेव धमला, पर्यटक प्रहरी तथा पर्यटन क्षेत्रका विभिन्न संघसंस्थाका प्रतिनिधि र पर्यटन व्यवसायीको सहभागिता थियो।

कार्यक्रममा सहभागीले बाढीमा ज्यान गुमाएका सबैप्रति मौनधारण गर्दै श्रद्धाञ्जली व्यक्त गर्नुका साथै दिवंगत आत्माको चिरशान्तिको कामना गरेका थिए।

कार्यक्रममा बेपत्ता भइरहेका नेपाली तथा विदेशी नागरिकको शीघ्र उद्धार र खोजी कार्य सफल होस् भन्ने कामनासहित दीप प्रज्वलन गरिएको थियो। बाढीले नदी तथा त्यससँग जोडिएका क्षेत्रमा ठूलो मानवीय र भौतिक क्षति पुर्‍याएको थियो।

बाढीले रसुवा, नुवाकोटलगायतका जिल्लामा बस्ती, सडक, पुल तथा जलविद्युत् आयोजनामा पनि क्षति पुर्‍याएको थियो।

पर्यटन विभागका अनुसार उक्त घटनामा परेर हाल ३४ देशका ५८७ विदेशी नागरिक बेपत्ता भएका छन्। बाढीपछि पर्यटकको अवस्था पहिचान, उद्धार तथा परिवारसँग सम्पर्क कायम गराउने काममा पर्यटन क्षेत्रका सरकारी निकाय र निजी क्षेत्रले संयुक्त रूपमा काम गरिरहेका छन्।

प्रकाशित: २२ भदौ २०८३ २०:५४ | Monday, September 7, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast