काठमाडौँ- नेपाली सेनाले भदौ १० गते बुधबार रसुवाको भोटेकोशी-त्रिशूली नदीमा आएको भीषण बाढीमा बेपत्ता भएका नेपाली सेनाका ४५ जना सैनिकको खोजी उच्च प्राथमिकताका साथ जारी रहेको जानकारी दिएको छ।
सिंहदरबारमा सोमबार आयोजित पत्रकार सम्मेलनमा नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतले बेपत्ता सैनिकहरूको खोजीका लागि नेपाली सेनाले सम्बन्धित निकायसँग समन्वय गर्दै तदारुकताका साथ अभियान सञ्चालन गरिरहेको जानकारी दिए।
पत्रकार सम्मेलनमा प्रवक्ता बस्नेतले भने,‘नेपाली सेनाको पनि ४५ जना वीर सपूतहरू हराउनु भएको छ। उहाँहरूको खोजीका लागि पनि नेपाली सेना तदारुकताका साथ सरोकारवाला निकायसँग समन्वय गर्दै खोजीकार्य गरिरहेको छ।’
त्यसैगरी प्रवक्ता बस्नेतले नेपाल सरकारको निर्देशनअनुसार विपद् उद्धारमा संलग्न सबै निकायसँग नजिकबाट सहकार्य गर्दै काम भइरहेको बताए। ‘हामीले हवाई, जमिनी र सुरुङ खोज तथा उद्धार अभियान सञ्चालन गरेका छौँ,’ उनले भने।
सरकारले विदेशी विज्ञहरूमार्फत उद्धार गरेन, उद्धारमा ढिलाइ गर्यो भन्दै माइतीघर मण्डलामा पीडिका आफन्तले प्रदर्शन गरेको विषयलाई लिएर एक पत्रकारले सोधेको प्रश्नको उत्तरमा प्रवक्ता बस्नेतले परराष्ट्र मन्त्रालयको समन्वयमा नेपाली सेनाले सहकार्य गरेर काम गरिरहेको जानकारी दिए।
‘परराष्ट्र मन्त्रालयबाट समन्वय भएर नेपाली सेनाले संयुक्त रूपमा काम गर्ने गरी विभिन्न देशबाट सहयोग भएको छ। यसका लागि हामी आभारी छौं। उहाँहरूसँग हामी समन्वय र सहकार्य गरेर काँधमा काँध राखेर सुरुङ क्षेत्रमा खोज तथा उद्धार कार्यलाई अझ प्रभावकारी बनाउने जानकारी गराउन चाहन्छु,’ प्रवक्ता बस्नेतले भने।
बाढीपछि बेपत्ता भएकाहरूको खोजी र उद्धार अभियान अझै जारी रहेको नेपाली सेनाले जनाएको छ।


