काठमाडौँ- नेपाली सेनाले ‘ब्रेक थ्रू’ नभएसम्म बाढीले क्षति भएका जलविद्युत आयोजनाको टनेलमा खोज तथा उद्धारको कार्य नरोकिने जनाएको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा सेनाका सहायक रथी सुवाशजंग थापाले टनेलमा खोज तथा उद्धार कार्य तीव्र रुपमा भइरहेको भन्दै सरकारले काम रोख्ने निर्णय गरेको अवस्थामा बाहेक ‘ब्रेक थ्रू’ नभएसम्म काम नरोकिने स्पष्ट पारे।
बाढीले प्रभावित जलविद्युत आयोजनाहरुमा करिब १ सय २१ जना नागरिक फसेको अनुमान सेनाले गरेको छ। रसुवागढी जलविद्युत आयोजनामा खोज तथा उद्धारको टोली तथा आयोजनाको प्रतिनिधिसहितको टोली पावरहाउस र कन्ट्रोल प्वाइन्टसम्म पुगी खोजी कार्य गरिएको सहायक रथी थापाले बताइ।
त्यस्तै त्रिशूली–३ एको पावरहाउस तथा टनेलमा सेनाको फौज रेस्क्यु इक्वीपमेन्ट सामग्रीसहित निरन्तरता खोजमा लागि रहेको उनले बताए।
त्रिशूली–३ बी मा अडिट २ बाट फौज छिरी अडिट १ बाट निस्किएको र अडिट २ टनेलबाट एक्साभेटरलगायतका उपकरण लैजान सक्ने गरी बाटो बनाउने काम भइरहेको समेत उनले जाननकारी दिए।
त्यसैगरी चिलिमे हाइड्रोमा विदेशीसहितको संयुक्त टोलीले उपकरणको सहायतामा लेदो फाल्ने काम गरेको, माथिल्लो त्रिशुली १ मा विदेशीसहितको टोलीले थप खोजी कार्य गरेको समेत थापाले बताए।
सहायक रथी थापाले जलविद्युत आयोजनाको टनेलमा भएको क्षतिलाई आंकलन गर्दा बाढी तथा लेदो करिब १८० किमी प्रतिघण्टाको गतिमा खसेको अनुमान गरिएको बताए।


