काठमाडौँ- रसुवाको विनाशकारी बाढीमा परी ज्यान गुमाएका १ हजार ३४२ जनाको शव फेला परेको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बाढी आएको १२ औँ दिनसम्म आइपुग्दा खोज, उद्धार तथा राहत कार्यलाई निरन्तरता दिँदै हालसम्म १ हजार ३४२ जनाको शव फेला परेको जनाएको हो।
फेला परेका शवहरूमध्ये ९८ वटाको सनाखत भई परिवारलाई हस्तान्तरण गरिसकिएको र बाँकी शवको पहिचान सहज बनाउन सबैको डीएनए नमूना संकलन कार्य भइरहेको बताइएको छ।
त्यस्तै सम्पर्कविहीन नागरिकका आफन्तहरूलाई सम्बन्धित जिल्ला प्रहरी कार्यालयमा पुगेर डीएनए नमूना दिन प्राधिकरणले आग्रह गरेको छ।
प्रभावित क्षेत्रका जलविद्युत् आयोजनाका सुरुङहरूमा खोजी कार्य जारी रहेको प्राधिकरणले बताएको छ। त्रिशूली ३ ‘ए’ मा १६० मिटर, त्रिशूली ३ ‘बी’ मा हेलिकप्टरबाट एक्जाभेटर ड्रप गरी ३० मिटर, रसुवागढीमा २७५ मिटर, लाङटाङमा १५० मिटर र चिलिमेमा १७० मिटरसम्म टोली प्रवेश गरेको प्राधिकरणले जनाएको छ।
यता माथिल्लो त्रिशूली–१ को अडिट ३ बाट आईआर तथा थर्मल ड्रोनमार्फत खोज्दा कुनै जीवित संकेत नदेखिएको र टनेल हेडदेखि टेलसम्म खोजी कार्य जारी रहेको प्राधिकरणकी प्रवक्ता शान्ती महतले जानकारी दिइन्।
नेपाल प्रहरीको श्रव्य–दृश्य विज्ञ टोलीले ड्रोनमार्फत नदी किनारको निरीक्षण गरिरहेको छ भने पर्यटक प्रहरीले विदेशी नागरिकका आफन्तलाई सहजीकरण गरिरहेको बताएइको छ।
यातायाततर्फ देवीघाटको तादी खोलामा अस्थायी पुल जडान कार्य जारी छ भने देवीघाट–ढुङ्गे खण्ड पूर्ण रूपमा सञ्चालनमा आएको जानकारी दिइएको छ। प्रभावित क्षेत्रमा सञ्चार सेवा लगभग सञ्चालन भइसकेको र विद्युत् सेवा पनि धेरैजसो स्थानमा पुनस्र्थापना भइसकेको प्राधिकरणले जनाएको छ।


