काठमाडौँ- रसुवाको भोटेकोशी-त्रिशूली बाढीमा परी निधन भएका प्रहरीका परिवारलाई नेपाल प्रहरीले विशेष राहत तथा सहयोग उपलब्ध गराउने भएको छ।
प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको अध्यक्षतामा बिहीबार बसेको नेपाल प्रहरीको नीति निर्माण समितिको बैठकले उक्त निर्णय गरेको हो।
बाढीमा परी दिवंगत भएका प्रहरी कर्मचारीका परिवारलाई प्रहरी नियमावली बमोजिम पाइने सेवासुविधाका अतिरिक्त राहत स्वरूप सुविधाहरू प्रदान गरिने छ।
दिवंगत प्रहरी कर्मचारीका परिवारलाई जनही रु. १० लाख राहत रकम उपलब्ध गराइने, नेपाल प्रहरी कल्याण कोषबाट लिएको विशेष सापटी ऋण पूर्ण रूपमा मिनाहा गरिने, परिवारका इच्छुक एक जना सदस्यलाई सीपमूलक तालिमका साथै रोजगारीका लागि आवश्यक पहल गरिने र नेपाल प्रहरी स्कुलमा दिवंगत प्रहरीका सन्ततिलाई शैक्षिक शुल्क मिनाहा गरी अध्ययनको व्यवस्था मिलाइने निर्णय गरिएको छ।


