काठमाडौँ- हिँडिरहेका व्यक्तिलाई धारिलो हतियार प्रहार गरी लुटपाट गर्ने ३ युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका १६ बालाजु बस्ने १९ वर्षीय राजन अर्याल, सोलुखुम्बु घर भइ काठमाडौं कलंकी बस्ने १९ वर्षीय आयुष राई र काठमाडौं महानगरपालिकाका २२ वर्षीय विशाल लामा रहेका छन्।
नेपाल प्रहरीका अनुसार उनीहरूले चन्द्रागिरी नगरपालिका ४ छुकिनटोल स्थित सडकमा हिँडिरहेकालाई धारिलो हतियार प्रहार गरी घाइते बनाई लुटपाट गरेका थिए। लुटपाटबाट मोबाइल थान १ र नगद रु ३००० लिएर फरार भएको भन्ने सूचना प्रहरीले पाएको थियो।
सोही सूचनापश्चात प्रहरीले घाइतेलाई थानकोट प्राथमिक अस्पताल पठाइएको र घटनामा संलग्न मानिसहरूको खोजतलास गर्ने क्रममा काठमाडौं, चन्द्रागिरी नगरपालिका १३ नैकापबाट चोरीको सामान र घरेलु हतियार समेत फेला पारेको थियो।


