प्रतिनिधिसभामा सम्बोधन गर्दै प्रधानमन्त्री बालेन। तस्बिर : रासस
काठमाडौँ- रसुवाको भोटेकोशी बाढीबाट प्रभावित भएका परिवारका नाममा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायबाट ७ अर्बभन्दा बढी रकम जुटेको प्रधानमन्त्री बालेन शाहले सदनमा जानकारी दिएका छन्। उनले आज प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै ‘प्रधानमन्त्री दैवी उद्धार कोष’ मा हालसम्म ७ अर्ब ८८ लाख ५७ हजार २१७ रुपैयाँ जम्मा भएको जानकारी दिएका छन्।
प्रधानमन्त्री शाहका अनुसार सरकारले विपद् व्यवस्थापन र राहत कार्यलाई प्रभावकारी बनाउन राष्ट्रिय विपद् न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका नाममा १ अर्ब रुपैयाँ निकासा गरिसकेको छ।
प्राधिकरणलाई पठाइएको उक्त १ अर्ब रुपैयाँमध्येबाट हालसम्म विभिन्न १५ वटा पालिकाका नाममा ६ करोड ७५ लाख रुपैयाँ निकासा भइसकेको उनले बताए । विपद् प्रभावित क्षेत्रका स्थानीय तहलाई सिधै बजेट पठाएर राहत र पुनर्स्थापनाको कामलाई तीव्रता दिइएको जानकारी उनले दिए ।
सदनमा बोल्दै उनले विपद्को यो समयमा स्रोत र साधनको अधिकतम प्रयोग गरी नागरिकको जिउधनको रक्षा गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गरे ।


