एआईबाट बनाइएको प्रतिनिधिमूलक तस्बिर।
काठमाडौँ– नुवाकोटमा बसोबास गर्दै आएका रसुवाको उत्तरगया गाउँपालिकाका बाढी प्रभावितलाई होल्डिङ सेन्टरबाटै नागरिकताको प्रतिलिपि वितरण प्रक्रिया सुरु गरिएको छ। नागरिकता नहुँदा राहत, पुनस्थापना तथा अन्य अत्यावश्यक प्रशासनिक कार्यमा ढिलाइ हुने भएकाले सेन्टरबाटै नागरिकताको प्रतिलिपि वितरण प्रक्रिया सुरु गरिएको हो।
प्रमुख जिल्ला अधिकारी कमल प्रसाद पाण्डेले आइतबार नुवाकोटको पिपलटारमा बसोबास गर्दै आएका उत्तरगया गाउँपालिका-१ का २०२ जना बाढी प्रभावितको नागरिकताको प्रतिलिपिका लागि फाराम संकलन गरी ल्याइएको बताए।
नागरिकहरूलाई सहज सेवा दिन होल्डिङ सेन्टरबाटै नागरिकताको प्रतिलिपिको आवेदन फाराम संकलन गर्ने, जिल्ला प्रशासन कार्यालय रसुवामा ल्याएर प्रमाणीकरण गर्ने, नागरिकता प्रिन्ट गर्ने र पुनः होल्डिङ सेन्टरमै लगेर हस्तान्तरण गर्ने व्यवस्था मिलाइएको छ।
गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीका कारण रसुवा र नुवाकोटमा ठूलो धनजनको क्षति भएको थियो। बाढीका क्रममा सर्वसाधारणका महत्त्वपूर्ण कागजात तथा नागरिकतासमेत हराएका र नष्ट भएका थिए।



