काठमाडौँ– खोटाङमा धारिलो हतियार प्रहारबाट चारजना घाइते भएका छन् । हलेसी तुवाचुङ नगरपालिका–३, आहालेमा एक व्यक्तिले धारिलो हतियार प्रहार गरी चारजनालाई घाइते बनाएका हुन् ।
स्थानीय ४३ वर्षीय नइन्द्रकुमार राईले आफ्नै ससुरालीमा गई धारिलो हतियार प्रहार गर्दा उनकी श्रीमतीसहित चारजना घाइते भएका हुन् ।
धारिलो हतियार प्रहारबाट हलेसी तुवाचुङ नगरपालिका–३ बस्ने ४० वर्षीया अन्जना राईको टाउकोको पछाडिको भागमा चोट लाग्दा उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
६२ वर्षीया स्यामाउन राईको टाउको तथा दाहिने हातमा चोट लागेको छ । उनको अवस्था गम्भीर रहेको छ । नरेन्द्र राईको दाहिने हातमा चोट लागेको छ । उनको अवस्था मध्यम रहेको छ ।
२५ वर्षीया तेनिना राईको टाउकोमा चोट लागेको र अवस्था गम्भीर रहेको छ ।
घाइतेहरूलाई नगर अस्पताल दुर्छिममा उपचार भइरहेको छ । हतियार प्रहार गर्ने नइन्द्र कुमार राईलाई पक्राउ गरिएको छ ।



