काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सोमबार राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गरी भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढी, त्यसबाट भएको क्षति तथा उद्धार र राहतका लागि भइरहेका गतिविधिबारे जानकारी गराएका छन्।
राष्ट्रपति भवन शीतल निवासमा भएको भेटमा सभापति लामिछानेले बाढी प्रभावित क्षेत्रमा भइरहेको उद्धार, राहत तथा सरकारी निकायहरूले अघि बढाइरहेका कामबारे राष्ट्रपतिलाई ब्रिफिङ गरेका हुन्।
यसअघि उनले सोमबार नै प्रधानमन्त्री वालेन्द्र शाहसँग भेट गरी सरकारले बाढी प्रभावित क्षेत्रमा सञ्चालन गरिरहेको उद्धार, राहत र व्यवस्थापनका कामबारे जानकारी लिएका थिए। त्यसलगत्तै उनले राष्ट्रपतिसमक्ष समग्र अवस्थाबारे जानकारी गराएका हुन्।
भेटमा बाढी प्रभावित नागरिकको उद्धारलाई प्रभावकारी बनाउन, राहत वितरणलाई तीव्रता दिन र पुनर्स्थापनाका कामलाई प्राथमिकताका साथ अघि बढाउनुपर्ने विषयमा पनि छलफल भएको छ।


