उद्धार कोषको रकम तत्काल प्रभावित पालिकामा पठाउन अर्थमन्त्रीको निर्देशन

हिमाल प्रेस १५ भदौ २०८३ १७:५७ | Monday, August 31, 2026
उद्धार कोषको रकम तत्काल प्रभावित पालिकामा पठाउन अर्थमन्त्रीको निर्देशन

काठमाडौँ- अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राहत तथा उद्धार कोषमा जम्मा भएको रकमलाई तत्काल प्रभावित पालिकाहरुमा पठाउने व्यवस्था गर्न निर्देशन दिएका छन्।

विनाशकारी बाढीपछिको पुनर्निर्माण, आधारभूत आवश्यकताको आपूर्तिलगायतका विषयमा सोमबार अर्थ मन्त्रालयमा आयोजित उच्चस्तरीय छलफलमा मन्त्री वाग्लेले राहत तथा उद्धार कोषमा जम्मा भएको रकमलाई अनावश्यक प्रशासनिक प्रक्रियामा अल्झाएर समय खेर नफाली तत्काल पालिकाहरूमा पठाउन निर्देशन दिएका हुन्।

उनले कुल १६ वटा प्रभावित पालिकामध्ये चारवटालाई अति आवश्यकको प्राथमिकतामा राखेर तत्काल बजेट पठाउन मुख्य सचिवलाई निर्देशन दिए।

जनताले विश्वास गरेर सरकारको कोषमा पठाएको रकमको पूर्ण सदुपयोग हुनुपर्ने उनको भनाइ छ। उनले पुनर्निर्माणका लागि २०७२ सालको जस्तै छुट्टै पुनर्निर्माण प्राधिकरण गठन गर्ने वा हाल रहेका निकायहरूबीच कार्यविभाजन गर्ने विषयमा छलफल गरी टुङ्गो लगाउने जानकारी दिए।

कानुन मन्त्रालयसँग समन्वय गरी विद्यमान कानुनमा संशोधन वा नयाँ ऐनको आवश्यकता भए सोही अनुसार खाका तयार गरिने उनले बताए।

त्यस्तै उनले ’विपद्पछिको आवश्यकता मूल्यांकन’ का आधारमा योजनाहरू सम्बोधन गरिने र जनताका वास्तविक आवश्यकतालाई तत्काल सम्बोधन गर्न सरकार लचिलो रहने धारणा राखे।

प्रकाशित: १५ भदौ २०८३ १७:५७ | Monday, August 31, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast