चीनले नेपाललाई आपत्‌कालीन सहायता उपलब्ध गराउने

हिमाल प्रेस १२ भदौ २०८३ १४:५१ | Friday, August 28, 2026
चीनले नेपाललाई आपत्‌कालीन सहायता उपलब्ध गराउने चीनको दक्षिणपश्चिमी सिचुआन प्रान्तको छेङ्दुस्थित सुआङलिउ अन्तर्राष्ट्रिय विमानस्थलमा उद्धार तथा राहत सामग्रीसहितका उद्धारकर्मीहरू पहिरो प्रभावित केरुङ बन्दरगाहतर्फ प्रस्थान गर्नुअघि तयारी गर्दै। तस्बिर : सिन्ह्वा/रासस

काठमाडौँ- चीनले बाढी तथा पहिरोबाट प्रभावित नेपाललाई आपत्कालीन सहायता उपलब्ध गराउने निर्णय गरेको छ।

चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) केन्द्रीय समितिका महासचिव तथा राष्ट्रपति सी चिनफिङको अध्यक्षतामा शुक्रबार बसेको पार्टीको राजनीतिक ब्युरो बैठकले नेपालसहित विपद्पीडित क्षेत्रमा उद्धार तथा राहत कार्य प्रभावकारी रूपमा अघि बढाउने निर्णय गरेको चिनियाँ समाचार एजेन्सी सिन्हवाले उल्लेख गरेको छ।

बैठकले पार्टी केन्द्रीय समितिको सशक्त नेतृत्वमा आपत्कालीन उद्धार कार्य तीव्र, व्यवस्थित र समन्वयात्मक रूपमा अघि बढिरहेको जनाएको छ। प्रभावित मानिसहरूको पुनःस्थापना तथा विपद्पछिको व्यवस्थापनका लागि पनि व्यापक काम भइरहेको बैठकमा बताइएको छ।

विपद् अत्यन्त चिसो उच्च हिमाली क्षेत्रमा भएको छ। त्यहाँ गहिरा तथा भिराला उपत्यका, परिवर्तनशील मौसम, वरपर रहेका धेरै हिमनदी तथा हिमताल र सम्भावित भौगर्भिक जोखिमका कारण आपत्कालीन उद्धार कार्यमा ठूलो चुनौती रहेको बैठकले जनाएको छ।

बैठकले सम्बन्धित सबै निकाय तथा विभागलाई उद्धारसम्बन्धी काममा दृढ र प्रभावकारी कदम चाल्न निर्देशन दिएको छ। खोज तथा उद्धारका योजना वैज्ञानिक ढङ्गले तयार पार्नुपर्ने र बेपत्ता भएका सबै चिनियाँ तथा विदेशी नागरिकको खोजी तथा उद्धारका लागि हरसम्भव प्रयास गर्नुपर्नेमा बैठकले जोड दिएको छ।

नेपाल–चीन सीमा क्षेत्रमा पहिरोले बनाएको ताल शुक्रबार ओभरफ्लो भएर फुट्ने जोखिम बढेपछि सबै चिनियाँ उद्धारकर्मी र सवारीसाधनलाई सुरक्षित क्षेत्रमा फिर्ता लगेर तयारी अवस्थामा राखिएको चिनियाँ सरकारी प्रसारक सीसीटीभीले जनाएको छ। माथिल्लो क्षेत्रमा बनेको अवरोध तालबाट उत्पन्न जोखिम व्यवस्थापन गर्न सकिने ठहर भएपछि उद्धार कार्य पुनः सुरु गरिएको सीसीटीभीले जनाएको छ।

प्रकाशित: १२ भदौ २०८३ १४:५१ | Friday, August 28, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast