काठमाडौँ- रसुवामा बाढीको पहिलो प्रहार बेहोरेको क्षेत्रमा पर्छ, गोसाइँकुण्ड गाउँपालिकास्थित टिमुरे बजार।
त्यहाँका व्यवसाय गर्ने कामी नुर्बु तामाङका अनुसार बुधार बिहान केही मिनेटभित्र बजार तहसनहस भएको थियो।
‘चीनसँगको व्यापारको निम्ति एक नम्बरको नाका बनेको यो ठाउँमा अहिले केही छैन’, उनले बीबीसीसँग भने, ‘यो वडाका अध्यक्ष, सचिव र एक जना सदस्यसहित थुप्रै बेपत्ता छन्।’
गोसाइँकुण्ड गाउँपालिका अध्यक्ष कैसाङ नुर्पु तामाङले वडा नम्बर २ को टिमुरे ९० प्रतिशत र वडा नम्बर ५ स्याफ्रुबेँसी ६० प्रतिशत सखाप भएको बताए।
‘बेपत्ताहरूको कुनै लेखाजोखा छैन’, उनले भने, ‘मेरो गाउँपालिकाका उपाध्यक्ष, दुई जना वडाध्यक्ष, कार्यपालिकाका सदस्य र कर्मचारीहरू थुप्रै बेपत्ता छन्।’
बेपत्ता सर्वसाधारणको विवरण संकलन भइरहेको उनले जानकारी दिए।
विपत्तिमा परेका नागरिकले सेवा र सहारा खोज्ने पहिलो जनप्रतिनिधि निकाय कार्यालयविहीन भएका छन्।
आफ्नो पालिकाका कार्यालय पनि सबै ध्वस्त भएको बताउँदै उनले भने, ‘केही पनि बाँकी छैन, नामनिसान छैन।’
उनका अनुसार वडा नम्बर ५ का अध्यक्ष पनि बेपत्ता छन्।
उक्त वडाकी महिला सदस्य विविरानी तामाङले कार्यालय गएका बेला वडाध्यक्षलाई बाढीले बगाएको जानकारी पाएको बताइएको छ।
‘पालिकाका कर्मचारीहरू पनि कति कहाँ छन् अहिलेसम्म केही थाहा छैन’, उनले भनिन्, ‘पालिका र वडाको कार्यालय केही छैन, सबै बाढीले लग्यो।’


