 
                             
                                            काठमाडौँ- बाल चलचित्र समाजले चलचित्र विकास बोर्ड, युनिसेफ र ब्रिटिस काउन्सिलको सहयोगमा ‘यङ फिल्म्स २०२३’ आयोजना गर्ने भएको छ।
बालबालिकासम्बन्धी फिल्म महोत्सवमा खुला प्रतिस्पर्धाबाट प्राप्त भएका ४० फिल्ममध्ये १० वटा छनोट भएका छन्। तिनै १० फिल्म महोत्सवमा देखाइनेछन्।
‘युवा चलचित्र निर्माताहरूले विभिन्न मुद्दामा बनाएका १० चलचित्र तपाईंसमक्ष ल्याउन पाउँदा गर्व गर्दछ,’ युनिसेफ नेपालले आफ्नो फेसबुक पेजमा लेखेको छ।
१० वटा फिल्मलाई सोसल मिडिया क्याम्पेनिङ गरी सबैभन्दा बढी लाइक, भ्युज तथा कमेन्ट प्राप्त गर्ने एक फिल्मलाई नगद पुरस्कार दिइने आयोजकले जनाएको छ।
जनवरी २५ देखि सुरु भएको क्याम्पेनिङ फेबु्रअरी ८ (आज) सम्म हुनेछ। आज बेलुका ५ बजेसम्म सामाजिक सञ्जालमा राखिएका ती फिल्म हेरेर लाइक, कमेन्ट गर्न सकिनेछ।
नेपाली बालबालिकालाई फिल्मतर्फ आकर्षित गराउन सन् २०१९ यता ‘यङ फिल्म्स’ आयोजना भइरहेको छ।
‘बालबालिकालाई फिल्म साक्षरता दिने, उनीहरूलाई फिल्मप्रति आकर्षित गराउने उद्देश्यसहित फिल्म महोत्सव आयोजना गरेको बाल चलचित्र समाजले जनाएको छ।
चलचित्र विकास बोर्डले २०७९ सालको मंसिरमा विधिवत् रूपमा बाल चलचित्र समिति गठन गरी यसतर्फ काम थालेको हो।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 