काठमाडौँ- प्रतिनिधिसभाको आकस्मिक बैठकमा सांसदहरूले रसुवाको भोटेकोशीमा आएको बाढीपछि राहत तथा उद्धारमा राजनीतिक दलभन्दा माथि उठेर राष्ट्रिय एकताका साथ जुट्नुपर्नेमा जोड दिएका छन्।
बैठकमा सांसद समीक्षा बाँस्कोटाले राष्ट्रिय विपद् कोष स्थापना गरी सांसद र कर्मचारीको मासिक तलब त्यसमा जम्मा गर्ने प्रस्ताव राखिन्। उनले आफ्नो दुई महिनाको तलब कोषमा योगदान गर्ने घोषणा गर्दै सर्वदलीय संयन्त्र गठन गर्न पनि आग्रह गरिन्।
सांसद डा.अमरेशकुमार सिंहले सरकारका सबै स्रोतसाधन नागरिकको उद्धारमा परिचालन हुनुपर्ने बताए। उनले विगतका विपद्बाट पाठ सिकेर दीर्घकालीन तयारी गर्नुपर्ने उल्लेख गरे।
सांसद रमेशकुमार मल्लले देश संकटमा रहेका बेला सबै शक्ति राहत र उद्धारमा केन्द्रित हुनुपर्ने बताए। पार्वती विकले राष्ट्रिय एकताका साथ उद्धार अभियानमा जुट्न आग्रह गरिन्।
सांसद स्मृति सेन्चुरीले विपद् प्रभावित नागरिकप्रति राज्यले अभिभावकीय भूमिका निर्वाह गर्नुपर्ने बताइन्। प्रकाशसिंह कार्कीले विपद् आएपछि मात्रै उद्धार गर्ने होइन पूर्वतयारीमार्फत नागरिकलाई जोगाउने जिम्मेवारी राज्यको भएको धारणा राखे।
डा.तोसिमा कार्कीले घाइतेको उपचारका लागि सम्पूर्ण स्वास्थ्य संयन्त्र तयारी अवस्थामा राख्नुपर्ने बताइन् भने कृपाराम रानाले उद्धार र राहत परिचालनमा सरकारले थप गम्भीरता देखाउनुपर्ने बताए।


