छोरी सुरक्षाका लागि राष्ट्रिय अभियान चलाउन सांसदहरूको माग

हिमाल प्रेस ८ भदौ २०८३ १७:४५ | Monday, August 24, 2026
छोरी सुरक्षाका लागि राष्ट्रिय अभियान चलाउन सांसदहरूको माग

काठमाडौँ- प्रतिनिधिसभाको सोमबारको बैठकमा सांसदहरूले बालबालिकामाथि हुने यौन हिंसा र हत्याका घटना रोक्न छोरी सुरक्षालाई केन्द्रमा राखेर राष्ट्रिय अभियान सञ्चालन गर्न सरकारसँग माग गरेका छन्।

विशेष समयमा बोल्दै नेकपा सांसद युवराज दुलाल ले पछिल्लो समय बालिकामाथि भएका हिंसा र हत्याका घटनाले देशलाई स्तब्ध बनाएको बताए।

उनले पीडित परिवारप्रति समवेदना व्यक्त गर्दै घटना भएपछि मात्र दोषीलाई कारबाही गर्नेभन्दा यस्ता अपराध हुनै नदिने व्यवस्था गर्न राज्यले प्राथमिकता दिनुपर्नेमा जोड दिए।

दुलालले छोरीहरूको सुरक्षाका लागि राजनीतिक, शैक्षिक, स्वास्थ्यलगायत सबै क्षेत्रको सहभागितामा ‘छोरी बचाऊ राष्ट्रिय जागरण अभियान’ सञ्चालन गर्न सरकारसँग आग्रह गरे।

उनले स्वच्छ खानेपानी नागरिकको नैसर्गिक अधिकार भएकाले खानेपानीमा लगाइएको अनावश्यक शुल्क र कर हटाउनुपर्ने माग पनि गरे।

पानीलाई उपभोग्य वस्तुका रूपमा नभई प्रशोधन गरी खाडी मुलुकलगायत अन्तर्राष्ट्रिय बजारमा निर्यात गर्न सकिने स्रोतका रूपमा विकास गर्नुपर्ने उनको भनाइ थियो।

पानी उद्योगलाई प्रोत्साहन गर्न आवश्यक कानुनी तथा नीतिगत व्यवस्था सहज बनाउन र विद्युत्मा मूल्य अभिवृद्धि कर (भ्याट) नलगाउन पनि उनले माग गरे।

श्रम संस्कृति पार्टीका सांसद हर्कराज राई ले मनसुनजन्य बाढीपहिरोका कारण बर्सेनि ठूलो परिमाणमा कृषि भूमि डुबानमा पर्ने भएकाले प्रभावकारी बाढी नियन्त्रण योजना आवश्यक रहेको बताए।

विशेषगरी सुनसरीमा बाढीका कारण कृषि उत्पादन प्रभावित हुँदै आएको उल्लेख गर्दै उनले दीर्घकालीन समाधानमा सरकारको ध्यानाकर्षण गराए।

राईले दुईदिने सार्वजनिक बिदाको व्यवस्थाले स्वास्थ्य क्षेत्रमा असर परेको भन्दै त्यसबारे पुनर्विचार गर्नुपर्ने बताए।

सांसद खुश्बु ओलीले बलात्कार तथा बलात्कारपछि हुने हत्याका घटनामा संलग्न दोषीलाई अझ कडा सजायको व्यवस्था गर्नुपर्ने बताइन्।

उनले बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनाको स्मरण गर्दै यस्ता अपराधमा संलग्न व्यक्तिले अपराध गर्नुअघि नै सजायको डर महसुस गर्ने अवस्था सिर्जना गर्नुपर्नेमा जोड दिइन्।

ओलीले विद्यमान कानुनको पुनरावलोकन, दण्डहीनताको अन्त्य र अपराध नियन्त्रणका लागि प्रभावकारी कानुनी व्यवस्था गर्न सरकारसँग माग गरिन्।

प्रकाशित: ८ भदौ २०८३ १७:४५ | Monday, August 24, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast