प्रचण्डले गरे सत्ता केन्द्रित राजनीतिको आलोचना

हिमाल प्रेस ७ भदौ २०८३ १७:०६ | Sunday, August 23, 2026
प्रचण्डले गरे सत्ता केन्द्रित राजनीतिको आलोचना नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सत्ता केन्द्रित राजनीतिका कारण कम्युनिस्ट आन्दोलन रक्षात्मक अवस्थामा पुगेको बताएका छन्। कम्युनिस्टहरू निरन्तर सत्तामा केन्द्रित हुँदा पार्टी कमजोर बन्दै गएको उनले बताए।

आइतबार ‘कम्युनिस्ट आन्दोलनमा सहकार्य, एकता र पुनर्गठन’ विषयक अन्तरक्रिया कार्यक्रममा उनले सरकार निर्माण र परिवर्तनमा मात्रै केन्द्रित हुँदा आन्दोलन कमजोर बनेको टिप्पणी गरे। कम्युनिस्ट शक्तिहरूले अब सत्ताभन्दा माथि उठेर जनताका मुद्दा र आन्दोलनमा केन्द्रित हुनुपर्ने उनको भनाइ थियो।

दाहालले उत्पीडित वर्ग, जाति, क्षेत्र, समुदाय तथा श्रमजीवी जनताका मुद्दालाई आधार बनाएर सहकार्य र संघर्ष अघि बढाउनुपर्ने बताए। यस्तो आन्दोलनबाट मात्रै सामाजिक तथा राजनीतिक रूपान्तरणको आधार तयार हुने उनले बताए।

उनले सहकार्यको उद्देश्य सरकारमा जानु मात्र नभई नयाँ आन्दोलन निर्माण गर्नु हुनुपर्ने बताए। विगतमा माओवादी आन्दोलनमा सहभागी शक्तिहरूबीच भएको सहकार्य तथा नेकपा एमाले लगायत अन्य वामपन्थी दलसँगको एकताबाट सिक्दै आगामी रणनीति तय गर्नुपर्नेमा उनले जोड दिए।

विगतका कमजोरी दोहोरिन नदिने गरी सबै वामपन्थी शक्तिहरूलाई एकता र सहकार्यको नयाँ यात्रामा सहभागी हुन दाहालले आह्वान गरे।

प्रकाशित: ७ भदौ २०८३ १७:०६ | Sunday, August 23, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast