कांग्रेसका निवर्तमान सभापति देउवालाई भेट्न निवास पुगेका कांग्रेस नेता नैनसिंह महर। तस्बिर : महर फेसबुक
काठमाडौँ- नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा तत्काल सभापति गगनकुमार थापासँग भेटेर संवाद अघि बढाउने पक्षमा देखिएका छैनन्। कांग्रेसभित्रको विवाद समाधानका लागि संवाद आवश्यक भए पनि देउवा अदालतको निर्णयलाई समेत पर्खेर अघि बढ्ने पक्षमा रहेको देश र कांग्रेस जोड्ने अभियानका संयोजक का्ग्रेस नेता नैनसिंह महरले बताए।
कांग्रेसभित्र बढेको आन्तरिक विवाद अन्त्य गरी पार्टीलाई एकताबद्ध बनाउने प्रयासस्वरूप महरले आइतबार देउवासँग संवाद गरेका हुन्। यसअघि उनले सभापति गगनकुमार थापासँग पनि भेटेर पार्टी एकताका लागि पहल गर्न आग्रह गरेका थिए।
महरले देउवासँगको भेटमा गगनसँग तत्काल संवाद गर्नुपर्ने आवश्यकता औँल्याएका थिए। जवाफमा देउवाले संवादको सम्भावना अस्वीकार नगरे पनि तत्काल भेटवार्ता गर्नेभन्दा अदालतमा विचाराधीन विषयको निर्णय पर्खने संकेत दिएका छन्।
‘मैले तपाईंहरूबीच संवाद हुनुपर्छ भनेर प्रस्ताव गरेको छु। उहाँले ठिक छ, संवाद पनि थालनी गरौँला। अदालतमा पनि प्रक्रियामा छ, त्यो पनि हेरौँ भन्नुभयो,’ महरले हिमालप्रेससँग भने।
महरका अनुसार पार्टी एकता कायम गर्न दुई पक्ष लचिलो हुनुपर्नेमा आफूले देउवासँग जोड दिएका थिए। अदालतको निर्णय आउनुअघि नै दुई नेताबीच संवाद भए विवाद समाधानको आधार तयार हुन सक्ने उनको भनाइ थियो।
महरले दुवै नेतासँग पार्टी एकताका लागि तीनवटा विकल्प अघि सारेका छन्। पहिलो, दुईमध्ये जसले जसलाई छाडे पनि हुने; दोस्रो, दुवै पक्ष बसेर तेस्रो व्यक्तिलाई नेतृत्व दिएर अघि बढ्न सकिने र तेस्रो, अदालतले जसलाई आधिकारिकता दिन्छ, सबैले त्यसैलाई स्वीकार गरेर अघि बढ्ने प्रतिबद्धता गर्नुपर्ने।
‘अदालतको निर्णयपछि पनि मनमुटाव बाँकी नै रहनेछन्। १५औँ महाधिवेशन सम्पन्न गर्नुपूर्व पनि विवाद हुन सक्छन्। सम्भावित यस्ता विवादलाई अहिल्यै टुंगो लगाउन सकिन्छ। अदालतले जसलाई आधिकारिकता दिन्छ, उसैलाई मानेर जाने कुरामा सहमति हुनुपर्छ,’ महरले भने।
महरले यी विषयमा केही दिनअघि सभापति गगनकुमार थापासँग पनि प्रस्ताव राखेका थिए।
नेपाली कांग्रेसभित्र विशेष महाधिवेशनबाट सभापति बनेका गगन थापा र पूर्वसभापति देउवा पक्षबीच विवाद चर्किएको छ। देउवा पक्षले यसअघि राष्ट्रिय भेला आयोजना गर्नुका साथै समानान्तर गतिविधि अघि बढाउँदै आएको छ। देउवा समूहका केही नेताहरू नयाँ पार्टी गठन गरेर अघि बढ्नेसम्मको तयारीमा रहेको बताइए पनि पार्टी एकताको पक्षमा रहेका नेताहरूले दुवै पक्षबीच संवाद र सहमतिको पहल गरिरहेका छन्।
महरले कांग्रेसभित्रको द्वन्द्व अन्त्य गरी एकताबद्ध कांग्रेस निर्माणमा देउवाको भूमिका महत्त्वपूर्ण रहेको भन्दै आफूहरूले पार्टीभित्र एकताका लागि गगन थापालगायत सबै पक्षसँग संवाद गरिरहेको बताए।


