काठमाडौँ- विश्वविद्यालयहरूको क्यूएस वर्ल्ड र्यांकिङमा ५९७औँ स्थानमा रहेको भारतको तमिलनाडुको भीआईटी युनिभर्सिटीमा नेपाली विद्यार्थी अमृत बासकोटाले बीटेकअन्तर्गत कम्प्युटर साइन्स एन्ड इन्जिनियरिङमा दोस्रो स्थान हासिल गरेका छन्।
कम्प्युटर साइन्स विषयको विश्व र्यांकिङमा ८६औँ तथा भारतमा छैटौँ स्थानमा रहेको भीआईटी युनिभर्सिटीमा कम्प्युटर साइन्सतर्फ स्नातक तह अध्ययन गर्ने करिब तीन हजार विद्यार्थीमध्ये दुई हजार ८९ जना उत्तीर्ण भएका थिए। बासकोटाले १० मध्ये ९.९२ सीजीपीए प्राप्त गर्दै दोस्रो स्थान हासिल गरेका हुन्।
तमिलनाडुको भेलोरस्थित भीआईटी युनिभर्सिटीमा शनिबार आयोजित दीक्षान्त समारोहमा उनलाई टाटा कन्सल्टेन्सी सर्भिसेस (टीसीएस) का चिफ टेक्निकल अफिसर (सीटीओ) बाबु उन्नीकृष्णनले स्नातक तहको डिग्रीसँगै दोस्रो र्यांकिङको प्रमाणपत्र प्रदान गरेका छन्।
समारोहमा दिल्ली सरकारकी मुख्यमन्त्री रेखा गुप्ता प्रमुख अतिथिका रूपमा उपस्थित थिइन्। विश्वविद्यालयका संस्थापक तथा कुलपति जी विश्वनाथनलगायत पदाधिकारीको पनि समारोहमा उपस्थिति थियो।
पुल्चोक इन्जिनियरिङ कलेजको प्रवेश परीक्षामा दोस्रो स्थान हासिल गरेका बासकोटा भारतीय दूतावासको कम्पेक्स छात्रवृत्तिअन्तर्गत भीआईटी युनिभर्सिटीमा अध्ययन गर्न गएका थिए। उनले सहपाठी शुभम घिमिरे र आविष्कार घिमिरेसँग मिलेर दुईवटा क्यू वान जर्नलमा प्रमुख लेखकका रूपमा अनुसन्धानपत्रसमेत प्रकाशित गरेका छन्। बासकोटा बैंगलुरुस्थित अमेरिकी कम्पनी ओक्टामा सफ्टवेयर इन्जिनियरका रूपमा कार्यरत छन्।


