काठमाडौँ- इरानको विदेश मन्त्रालयले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा तेहरानविरुद्ध घोषणा गरिएको नयाँ तथा कडा आर्थिक प्रतिबन्ध अभियानको तीव्र आलोचना गरेको छ।
शनिवार विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाईले वासिङ्टनले अन्य स्वतन्त्र राष्ट्रहरूलाई आफ्नो प्रतिबन्ध पालना गर्न बाध्य पार्न खोजेको आरोप लगाए।
अमेरिकी प्रशासनले तेहरानसँग आर्थिक, व्यावसायिक तथा वित्तीय कारोबार गर्ने विदेशी कम्पनी र बैंकहरूलाई गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिँदै अहिलेसम्मकै कडा प्रतिबन्ध लगाउने योजना सार्वजनिक गरेपछि इरानको यो कडा प्रतिक्रिया आएको हो। राष्ट्रपति ट्रम्पले यस कदमलाई ‘उच्चस्तरको आर्थिक युद्ध’ का रूपमा वर्णन गरेका छन्।
सामाजिक सञ्जाल एक्स मार्फत प्रवक्ता बाघाईले अमेरिकी कदमको विरोध गर्दै अमेरिकाको यो कदम अन्य देशहरूमाथि आफ्नो बाह्य सार्वभौमसत्ता लाद्ने प्रयास रहेको आरोप लगाएका छन्।
त्यस्तै विदेशी बैंक तथा कम्पनीहरूलाई इरानसँग व्यापार गर्नबाट रोक्ने वासिङ्टनलाई कुनै अधिकार नभएको बताउँदै उनले यो गतिविधि संयुक्त राष्ट्रसंघको बडापत्रमा उल्लेखित सार्वभौम समानताको सिद्धान्तविपरीत रहेको जिकिर गरेका छन्।
यसैबीच, इरानी संसदको राष्ट्रिय सुरक्षा तथा विदेश नीति समितिका अध्यक्ष इब्राहिम अजिजीले पनि शुक्रबार प्रतिक्रिया दिँदै वासिङ्टनले कूटनीतिको मर्म र मर्मविपरीत कार्य गरिरहेको बताए।
६० दिने समयसीमा समाप्त भएसँगै तनाव थपियो
अमेरिका र इरानबीचको तनाव पुनः बढ्नुको मुख्य कारण दुई देशबीच अन्तिम सम्झौताका लागि तोकिएको ६० दिनको समयसीमा सोमबार कुनै निष्कर्षविना समाप्त हुनु हो।
दुवै पक्षले गत जून महिनामा आपसी शत्रुता अन्त्य गर्ने र दीर्घकालीन वार्ताका लागि मार्ग प्रशस्त गर्ने उद्देश्यले एक अन्तरिम ज्ञापनपत्रमा हस्ताक्षर गरेका थिए।
तर, तोकिएको समयभित्र सम्झौता हुन नसक्दा दुई देशबीचको कूटनीतिक सम्बन्ध थप जटिल बनेको छ।


