महाधिवेशन प्रक्रिया रोक्न देउवा समूहले रिट दर्ता गर्दै

हिमाल प्रेस ५ भदौ २०८३ १२:०६ | Friday, August 21, 2026
महाधिवेशन प्रक्रिया रोक्न देउवा समूहले रिट दर्ता गर्दै फाइल तस्बिर

काठमाडौँ- नेपाली कांग्रेसको संस्थापनइतर समूह महाधिवेशन प्रक्रिया रोक्न माग गर्दै शुक्रबार सर्वोच्च अदालतमा रिट दर्ता गर्ने भएको छ।

संस्थापन समूहले अगाडि बढाएको १५ औँ महाधिवेशनको प्रक्रिया रोक्न माग गर्दै इतर समूहले सर्वोच्च अदालतमा रिट दर्ता गर्न लागेको हो।

संस्थापनइतर समूहका प्रचार प्रसार समितिका संयोजक मीन विश्वकर्माले आफूहरूले सर्वोच्च अदालतमा रिट हाल्ने जानकारी दिए।

‘महाधिवेशन प्रक्रिया रोक्न स्टे अर्डरको माग गर्दै आज सर्वोच्च अदालतमा रिट दर्ता हुन्छ,’ विश्वकर्माले भने।

नेता डा.शशांक कोइरालाको महाराजगञ्जस्थित निवासमा बिहीबार बसेको शीर्ष नेताहरूको बैठकले १५ औँ महाधिवेशनको प्रक्रिया रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता गर्ने निर्णय गरेको थियो।

सर्वोच्च अदालतले पार्टी आधिकारिकतासम्बन्धी विवादमा पुनरावलोकन गर्ने निर्णय गरे पनि संस्थापनले महाधिवेशन प्रक्रिया अगाडि बढाएपछि इतरपक्षले असन्तुष्टि जनाएको छ।

कांग्रेस केन्द्रीय निर्वाचन समितिको निर्णयअनुसार पार्टीको वडा अधिवेशन भदौ २४ गते हुने भएको छ। त्यस्तै कांग्रेसले असोज १६ देखि १९ गतेसम्म काठमाडौँमा महाधिवेशन गर्ने निर्णय गरेको छ।

वडा, क्षेत्रीय, जिल्लालगायतका अधिवेशन गराउन तयार नहुने सम्बन्धित सभापतिहरूलाई कारबाही गर्ने कांग्रेसले चेतावनी दिएको छ।

पार्टी आधिकारिकतासम्बन्धी विवादमा पुनरावलोकन गर्न सर्वोच्चले निस्सा दिएको अवस्थामा संस्थापन पक्षले महाधिवेशन प्रक्रिया अगाडि बढाएपछि इतरपक्ष त्यसलाई रोक्न सर्वोच्च जान लागेको हो।

प्रकाशित: ५ भदौ २०८३ १२:०६ | Friday, August 21, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast