इरानमाथि सयपटक आक्रमण गर्न पनि पछि हट्दिनँ : ट्रम्प

हिमाल प्रेस ५ भदौ २०८३ ११:३० | Friday, August 21, 2026
इरानमाथि सयपटक आक्रमण गर्न पनि पछि हट्दिनँ : ट्रम्प अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प। फाइल तस्बिर

काठमाडौँ- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई आणविक हतियार प्राप्त गर्नबाट रोक्न आवश्यक परेको खण्डमा सयपटक आक्रमण पनि पछि नहट्ने चेतावनी दिएका छन्।

एक रेडियो अन्तर्वार्ताका क्रममा उनले यस्तो बताएका हुन्।

अन्तर्वार्तामा ट्रम्पले यदि आफूले इरानविरूद्ध कडा सैन्य कदम नचालेको भए आज इजरायल र सम्पूर्ण मध्यपूर्व क्षेत्र नै ध्वस्त भइसक्ने दाबी गरे। इरान आणविक हतियार निर्माणको अन्तिम चरण (करिब दुई हप्ता मात्र बाँकी रहेको अवस्था) मा पुगेका बेला आफूले इरानी आणविक स्थलहरूमा आक्रमणको आदेश दिएको उनको भनाइ छ।

राष्ट्रपति ट्रम्पका अनुसार अमेरिकी सैन्य कारबाहीका कारण इरानको मिसाइल र ड्रोन क्षमता निकै कमजोर भएको छ भने उसको अर्थतन्त्र पतनको संघारमा पुगेको छ।

साथै उनले रणनीतिक रूपमा महत्वपूर्ण मानिने हर्मुज स्ट्रेटको नियन्त्रण हाल अमेरिकाको हातमा रहेको दाबी समेत गरे।

इरानलाई ‘मध्यपूर्वको गुन्डा’ को संज्ञा दिँदै ट्रम्पले इरानले आफूलाई समर्थन गर्ने कतार, बहराइन, कुवेत र यूएई जस्ता छिमेकी देशहरूमाथि पनि आक्रमण गरेको आरोप लगाए। यदि समयमै अमेरिकी हस्तक्षेप नभएको भए इरानले सबै देशहरूलाई ध्वस्त पारेर अमेरिकी भूभागमै आक्रमणको तयारी गर्ने उनको दाबी थियो।

पूर्वराष्ट्रपति बराक ओबामाको कार्यकालमा भएको इरान आणविक सम्झौतालाई ‘एक विपत्ति’ भन्दै ट्रम्पले इरानलाई आणविक शक्ति बन्नबाट रोक्नका लागि नै अमेरिका उक्त सम्झौताबाट बाहिरिएको स्पष्ट पारे।

इरानी शासन ढाल्ने अमेरिकी अर्थमन्त्रीको चेतावनी

यसैबीच अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले इरानको अर्थतन्त्रलाई पूर्ण रूपमा ध्वस्त पार्ने अमेरिकाको अभियानमा साथ दिन आफ्ना सहयोगी राष्ट्रहरूसँग आग्रह गरेका छन्।

न्युज च्यानल सीएनबीसीसँगको कुराकानीमा अर्थमन्त्री बेसेन्टले भने,‘हामी यो शासनलाई ढाल्न गइरहेका छौँ। अब हाम्रा सहयोगी र विश्वका बाँकी देशहरूले निर्णय गर्ने समय आएको छ–कि तपाईंहरू हामीसँग हुनुहुन्छ, कि हाम्रा विरूद्ध।’

प्रकाशित: ५ भदौ २०८३ ११:३० | Friday, August 21, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast