अख्तियारको स्वतन्त्रता र निष्पक्षतामाथि रास्वपा सांसद अमरेश सिंहको प्रश्न

हिमाल प्रेस ४ भदौ २०८३ १२:५८ | Thursday, August 20, 2026
10
SHARES
अख्तियारको स्वतन्त्रता र निष्पक्षतामाथि रास्वपा सांसद अमरेश सिंहको प्रश्न

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको स्वतन्त्रता र निष्पक्षताको विषयमा ख्याल गर्नुपर्ने बताएका छन्। सिंहले बिहीबार प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा यस्तो बताएका हुन्। उनले अख्तियार प्रधानमन्त्री कार्यालयको शाखा कि संवैधानिक आयोग हो भन्दै प्रश्नसमेत गरे। ‘अख्तियार प्रधानमन्त्री कार्यालयको शाखा हो कि संवैधानिक आयोग?’ उनको प्रश्न थियो।

गत असारमा अख्तियारका पदाधिकारी प्रधानमन्त्री कार्यालय पुगेका थिए। प्रधानमन्त्रीको सचिवालयले ती पदाधिकारीलाई ‘घण्टौं थुनेर राखेको’ समाचार प्रकाशित थियो। यसै पृष्ठभूमिमा सांसद सिंहले बिहीबार प्रश्नहरू उठाए।

उनले अख्तियारका पदाधिकारीका कारणले अख्तियारले आफ्नो दायित्व पूरा गर्न नसकेको पनि बताए। उनले भने,‘संसदीय समितिमा आउन मिल्छ,अख्तियार प्रधानमन्त्री मातहतको संस्था होइन। त्यसैले अख्तियारका पदाधिकारीहरू कुनै मन्त्री वा प्रधानमन्त्रीले बोलाउँदैमा त्यहाँ धाउनु हुँदैन। अख्तियारको मर्यादा दिनप्रतिदिन समाप्त हुँदै गएको छ। यो प्रवृत्तिको अन्त्य हुनुपर्छ।’

उनले न्यायालय र अख्तियार बिचौलिया उत्पादन गर्ने संस्था बनेको टिप्पणी गरे। उनले भने,‘भागबन्डाको राजनीति अन्त्य गरौँ र पूर्व कर्मचारीहरूको क्लब बन्न नदिऔँ। जति संवैधानिक निकाय छन्, ती सबै पूर्व कर्मचारीहरूको क्लब वा आयोग बनेका छन्।’

सांसद सिंहले अहिले भ्रष्टाचारको पैसा सुनमा लगानी भइरहेको बताउँदै निजगढ एयरपोर्टको जग्गा अधिग्रहणमा ठूलो भ्रष्टाचार भएको कुरा पनि बैठकमा उठाए। उनले भने,‘७-८ अर्बमा बनेको योजनामा २३ अर्ब जग्गा अधिग्रहणमै मात्र पैसा दिइएको छ। बालुवा नभएको ठाउँमा बालुवाको मुचुल्का उठाएर पैसा दिइएको छ। जहाँ जहाँ नेता र उच्च तहका व्यक्तिहरू संलग्न हुन्छन्, त्यहाँ अख्तियारले केही नगर्ने, साना मान्छेलाई मात्रै दुःख दिने? कानुनको लागि सबै बराबर हुनुपर्‍यो,यो अख्तियारले गराउन सक्नुपर्छ।’

प्रकाशित: ४ भदौ २०८३ १२:५८ | Thursday, August 20, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast