सरुवा,पेन्सनदेखि शिक्षक अस्पतालसम्मका मागमा सरकारसँग निरन्तर संवाद : रमेशबाबु भट्टराई

हिमाल प्रेस ४ भदौ २०८३ ११:२१ | Thursday, August 20, 2026
74
SHARES
सरुवा,पेन्सनदेखि शिक्षक अस्पतालसम्मका मागमा सरकारसँग निरन्तर संवाद : रमेशबाबु भट्टराई

काठमाडौँ- नेपाल शिक्षक संघ तनहुँका अध्यक्ष, शिक्षक तथा शैक्षिक अभियन्ता रमेशबाबु भट्टराईले शिक्षकका अधिकारका विषयमा सरकारसँग रचनात्मक संवाद र सहकार्यलाई प्राथमिकता दिनुपर्ने बताएका छन्। उनले बिहीबार सामाजिक सञ्जालमार्फत यस्तो बताएका हुन्।

उनले भने,‘नेपाल सरकार र शिक्षा मन्त्रालय प्रदायक निकाय हुन्। हामी शिक्षक आफ्ना अधिकारका लागि दबाब सिर्जना गर्ने समूह हौं। हाम्रो लडाइँ अधिकार प्राप्तिका लागि सरकारसँग रचनात्मक रूपमा रहिरहन्छ।’

भट्टराईले सरकार शिक्षकका मागप्रति सकारात्मक हुँदा त्यसलाई स्वीकार गरेर थप उपलब्धि हासिल गर्न प्रयास गर्नुपर्ने उल्लेख गरे। ‘हाम्रा मागमुद्दाका सवालमा सरकार सकारात्मक हुँदा हामीले अधिक लिन कोसिस गर्ने हो, भाग्ने होइन र विरोध मात्रै गर्ने पनि होइन,’ उनले भने।

उनका अनुसार गत साउन २५ गते १५ जना शिक्षकको टोलीले शिक्षामन्त्रीसँग करिब तीन घण्टा भेटेर आफ्ना मागहरू राखेको थियो। त्यस क्रममा शिक्षामन्त्रीका सल्लाहकार शैलेन्द्र झाले प्रभावकारी सहजीकरण गरेको भन्दै उनले आभार व्यक्त गरेका छन्।भट्टराईले  भने, ‘बाचाबमोजिम हिजो तलबमान समायोजन भएकोमा हार्दिक आभार र धन्यवाद व्यक्त गर्दछु।’

उनले अहिले सरकारले विद्यालय शिक्षा ऐन निर्माणलाई प्राथमिकतामा राखेर अघि बढिरहेको अवस्थामा अनावश्यक विवाद सिर्जना गर्नुको सट्टा रचनात्मक सहयोग गर्नुपर्ने धारणा राखेका छन्। ‘अब बखेडा झिक्ने होइन, रचनात्मक सहयोग गरेर हाम्रा मागमुद्दा स्थापित गर्ने हो,’ उनले भने।

उनले शिक्षकका धेरै माग सरकारसमक्ष निरन्तर उठाइरहेको पनि बताएका छन्। उनका अनुसार सरुवा प्रणाली सुधार, राहत शिक्षक, बाल शिक्षक, विद्यालय कर्मचारी तथा उमावि शिक्षकको पेसागत निरन्तरता, उपदान र बिरामी बिदाको रकम निकासा, अस्थायी सेवाको गणना, पेन्सन, ग्रेड समायोजन, तहगत तथा आवधिक बढुवा, सातै प्रदेशमा शिक्षक अस्पताल निर्माणलगायतका विषयमा सरकारको ध्यानाकर्षण गराइएको छ।

प्रकाशित: ४ भदौ २०८३ ११:२१ | Thursday, August 20, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + seventeen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast