संविधान संशोधनमा यस्तो छ कांग्रेसको अडान, सरकारसँग दूरी बढ्दै!

हिमाल प्रेस २ भदौ २०८३ १७:४२ | Tuesday, August 18, 2026
4
SHARES
संविधान संशोधनमा यस्तो छ कांग्रेसको अडान, सरकारसँग दूरी बढ्दै!

काठमाडौँ– नेपाली कांग्रेसले संविधान संशोधन गर्दा लोकतन्त्र, गणतन्त्र, संघीयता, नागरिक सर्वोच्चता, बहुलवाद, संसदीय व्यवस्था र समावेशितालगायत संविधानका आधारभूत मूल्यलाई कमजोर पार्न नहुने निष्कर्ष निकालेको छ।

कांग्रेसले संविधान संशोधनको प्रक्रियामा सर्वपक्षीय राजनीतिक संवाद र नागरिकको सहभागिता सुनिश्चित गर्नुपर्नेमा जोड दिएको छ।

हालै सम्पन्न केन्द्रीय कार्यसमिति बैठकको निर्णय मंगलबार सार्वजनिक गर्दै कांग्रेसले २०७२ मा जारी नेपालको संविधान लोकतान्त्रिक संघर्ष र जनआकांक्षाको ऐतिहासिक उपलब्धि भएकाले यसको रक्षा, कार्यान्वयन र समयानुकूल परिमार्जनप्रति पार्टी जिम्मेवार रहेको जनाएको हो।

कांग्रेसले संविधानलाई गतिशील दस्तावेजका रूपमा व्याख्या गर्दै बदलिँदो आवश्यकता र परिस्थितिअनुसार संशोधन हुनु लोकतान्त्रिक प्रक्रियाको स्वाभाविक अंग भएको जनाएको छ। संविधान संशोधनजस्तो गम्भीर विषयमा नागरिकको अपनत्व, अधिकार, प्रतिनिधित्व र राज्यप्रतिको विश्वास जोडिनुपर्ने पार्टीको निष्कर्ष छ।

कांग्रेसले लोकतन्त्र, गणतन्त्र, संघीयता, नागरिक सर्वोच्चता, बहुलवाद, बहुदलीय संसदीय व्यवस्था, शक्ति पृथकीकरण, स्वतन्त्र न्यायपालिका, अभिव्यक्ति तथा प्रेस स्वतन्त्रता, विधिको शासन, समावेशिता र मानवअधिकारलाई संविधानका आधारभूत मान्यता भन्दै यिनलाई संकुचित गर्ने गरी कुनै पनि संशोधन गर्न नसकिने स्पष्ट पारेको छ।

संविधान संशोधनको वैधानिक प्रक्रिया संसद्को क्षेत्राधिकारभित्र पर्ने भए पनि त्यसमा जनमत प्रतिबिम्बित हुनुपर्ने कांग्रेसको धारणा छ। त्यसका लागि सर्वपक्षीय राजनीतिक संवाद र सहभागिता आवश्यक रहेको पार्टीले जनाएको छ।

सरकारमाथि कांग्रेसको असन्तुष्टि

कांग्रेसले संविधान सुधारको विषयलाई सरकारले गम्भीरतापूर्वक नलिएको आरोप लगाएको छ। राजनीतिक छलफल नगरी गैरराजनीतिक समिति गठन गरेर सरकार अघि बढेको भन्दै कांग्रेसले यस्तो प्रक्रियाबाट संविधान सुधारजस्तो गहन विषयमा अर्थपूर्ण छलफल सम्भव नहुने निष्कर्ष निकालेको छ।

यही कारण पार्टीले सुरुदेखि नै उक्त प्रक्रियामा सहभागी नहुने निर्णय गरेको र त्यसको औचित्य अहिले पुष्टि भएको कांग्रेसको दाबी छ।

कांग्रेसले संविधानका आधारभूत मूल्यको संरक्षण गर्दै समसामयिक सुधारका लागि सर्वोच्च अदालतका अवकाशप्राप्त प्रधानन्यायाधीशको अध्यक्षतामा संविधान संशोधन सुझाव आयोग गठन गर्न सरकारसँग माग गरेको छ।

संविधानका उपलब्धिको रक्षा गर्दै लोकतन्त्र थप उन्नत बनाउन संविधान संशोधनका लागि पार्टीले आवश्यक पहलकदमी र अग्रसरता कायम राख्ने कांग्रेसले जनाएको छ।

कांग्रेसको यो निर्णयसँगै संविधान संशोधनको प्रक्रियामा सरकार र प्रमुख प्रतिपक्षबीचको राजनीतिक दूरी थप स्पष्ट भएको छ। कांग्रेसले संशोधनको आवश्यकता स्वीकार गरे पनि त्यसको प्रक्रिया, आधार र राजनीतिक स्वामित्वबारे भने स्पष्ट सर्त अघि सारेको छ।

प्रकाशित: २ भदौ २०८३ १७:४२ | Tuesday, August 18, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast