काठमाडौँ- नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाटा) का नवनिर्वाचित अध्यक्ष भरतजंग पाण्डेले आफूलाई नयाँ सोच र कार्यशैलीसहित संस्थागत सुधारलाई अघि बढाउने अवसर प्राप्त भएको बताएका छन्।
निर्वाचित भएपछि सञ्चारकर्मीसँग कुरा गर्दै पाण्डेले अब भाषणभन्दा सदस्यका कुरा सुन्ने र तिनका आधारमा काम गर्ने जिम्मेवारी आएको बताए। उनले आफ्नो निर्वाचनलाई नयाँ विद्यालयमा प्रवेश गरेजस्तै भएको उल्लेख गर्दै आफ्ना लागि यो ठूलो परीक्षा र नाटालाई राम्रो बनाउने सुनौलो अवसर भएको बताए।
पाण्डेका अनुसार यसपटकको निर्वाचन अभियान विगतका निर्वाचनभन्दा फरक रह्यो। भोजभतेर, भीडभाड र शक्ति प्रदर्शनभन्दा संवाद, भेटघाट र छलफलमार्फत आफ्ना एजेन्डा मतदातासम्म पुर्याउने प्रयास गरिएको उनले बताए।
निर्वाचन अभियानका क्रममा नाटा परिवारका सदस्यका समस्या, अपेक्षा र संस्थागत सुधारका विषयमा उनीहरूका सुझावसमेत सुनेको पाण्डेको भनाइ छ। संस्थामा देखिएका कमजोरीप्रति समयमै सचेत हुनुपर्ने भन्दै उनले बिग्रिएपछि सुधार्ने भन्दा बिग्रिन नदिने कार्यशैली आवश्यक रहेको बताए।
उनले नाटालाई तत्कालीन नेतृत्व परिवर्तनमा सीमित संस्थाका रूपमा नभई पर्यटन तथा ट्राभल व्यवसायीहरूको साझा आवाज, व्यावसायिक हितको प्रतिनिधि र नेपालको पर्यटन क्षेत्रसँग जोडिएको महत्वपूर्ण संस्थाका रूपमा विकास गर्नुपर्नेमा जोड दिए।
नाटाको गरिमा, प्रभाव र ऐतिहासिक महत्त्वलाई अझ उचाइमा पुर्याउने दीर्घकालीन दृष्टिकोणसहित आफू निर्वाचनमा सहभागी भएको उनले बताए। आगामी दिनमा नाटालाई नयाँ पुस्ताले समेत गर्वका साथ सम्झन सक्ने संस्थाका रूपमा विकास गर्ने उनको प्रतिबद्धता छ।
‘अब निर्वाचन सकिएको छ। प्रतिस्पर्धाको अध्याय बन्द भएको छ र कामको अध्याय सुरु भएको छ,’ पाण्डेले भने, ‘निर्वाचनका क्रममा व्यक्त गरिएका प्रतिबद्धतालाई व्यवहारमा उतार्नु नयाँ नेतृत्वको वास्तविक परीक्षा हो।’
उनका अनुसार अबको मुख्य चुनौती निर्वाचनका क्रममा व्यवसायीबाट सुनिएका आवाजलाई निर्णयको आधार बनाउनु, संस्थाभित्रको एकता बलियो पार्नु, व्यवसायीका समस्या समाधानका लागि प्रभावकारी पहल गर्नु र नाटाको संस्थागत क्षमता अभिवृद्धि गर्नु हो।
पाण्डेले नाटाको नेतृत्वलाई पद प्राप्त गर्ने विषयभन्दा पनि संस्थाको भविष्य निर्माण गर्ने जिम्मेवारीका रूपमा लिएको बताए। पद आउने–जाने क्रम चलिरहने भए पनि नेतृत्वले गरेको कामले संस्थाको भविष्य निर्धारण गर्ने उनको भनाइ छ।
‘नाटालाई वर्तमानका लागि चलाउने होइन, इतिहासले सम्झने संस्था बनाउने मेरो लक्ष्य हो,’ उनले भने।


