काठमाडौँ- नेकपा एमालेका महासचिव शंकर पोखरेलले अहिलेको प्राथमिकता कम्युनिस्ट पार्टीहरूबीच एकता गर्नु नभई जनतासँगको सम्बन्ध सुधार गर्दै पार्टीलाई बलियो बनाउनु रहेको बताएका छन्।
आइतबार काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै पोखरेलले विगतमा सकारात्मक उद्देश्यका साथ कम्युनिस्ट पार्टीहरूबीच एकता गरिए पनि त्यो सफल हुन नसकेको भन्दै फेरि नेताहरूको तहमा हुने एकताको पछि लाग्नुभन्दा कार्यकर्ता र जनताबीचको सम्बन्ध बलियो बनाउनुपर्ने धारणा राखेका छन्।
उनले पार्टीका कमजोरी सुधार गर्दै संगठनलाई बलियो बनाउनु अहिलेको मुख्य आवश्यकता रहेको उल्ल्ेख गर्दे जनताको भावना बुझेर पार्टी अघि बढ्नसके वर्तमान चुनौती सामना गर्न सकिने बताए।
महासचिव पोखरेलले एमाले यथास्थितिमा चल्न नसक्ने भन्दै पार्टीको समग्र पुनर्गठन आवश्यक रहेको धारणा व्यक्त गरे।
उनले कम्युनिस्ट नेतृत्वकै समयमा सरकारबाट बाहिरिनुपर्ने र जनताबाट अस्वीकृत हुनुपर्ने अवस्था आउनु वामपन्थी आन्दोलनका लागि गम्भीर विषय भएको उल्लेख गरे। पोखरेलले नेपालमा कम्युनिस्ट आन्दोलनले लामो राजनीतिक यात्रा तय गर्दै प्रधानमन्त्रीदेखि मुख्यमन्त्रीसम्मको नेतृत्व निर्माण गरे पनि पछिल्लो अवस्थालाई सामान्य रूपमा लिन नहुने बताए।
उनले विशेषगरी जनमत किन वामपन्थी शक्तिबाट टाढिँदै गयो भन्ने विषयमा गम्भीर आत्मसमीक्षा आवश्यक रहेको उल्लेख गर्दै वामपन्थी आन्दोलनको वर्तमान अवस्था सुधार्न विगतका कमजोरी पहिचान गरी त्यसबाट पाठ सिक्नुपर्नेमा जोड दिए।
महासचिव पोखरेलले प्रमुख राजनीतिक दलहरूबीच एकता र सहकार्य कायम रहेको भए पछिल्ला राजनीतिक परिस्थिति यति धेरै भड्किन नसक्ने दाबी गरे।
उनले वर्तमान राजनीतिक यथार्थलाई स्वीकार गर्दै नयाँ आधार र नयाँ सोचका साथ अघि बढ्नुपर्ने धारणा राखे।


