जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता : सात घाइते, घर पूर्णरूपमा भत्कियो

हिमाल प्रेस ३१ साउन २०८३ ६:२६ | Sunday, August 16, 2026
2
SHARE
जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता : सात घाइते, घर पूर्णरूपमा भत्कियो

काठमाडौँ- अविरल वर्षापछि जाजरकोटको भेरी नगरपालिका–२ रिसाङमा गएको पहिरोमा परी दुई जना बेपत्ता भएका छन् ।

बेपत्ता हुनेमा सोही वडाको फारुलाका ५४ वर्षीय उमासिंह खत्री र चिसापानीका ७० वर्षीय भीमबहादुर कार्की रहेका जिल्ला प्रहरी कार्यालय जाजरकोटका सूचना अधिकारी एवं प्रहरी निरीक्षक सुधीरकुमार खड्काले जानकारी दिए। उक्त पहिरोबाट सात जना घाइते भएका छन् । घाइते हुनेहरूमा वडा नं २ का ६० वर्षीय रामबहादुर शाही, ५७ वर्षीय भद्राकली कार्की, ४५ वर्षीय सिद्धिबहादुर कामी, वडा नं १ का ५२ वर्षीय केदार कार्की, ४५ वर्षीय मनवीर चँदरा, ४७ वर्षीय मोतिकला विक र १६ वर्षीय मनिषा विक रहेका छन् ।

शाहीको अवस्था गम्भीर रहेको र जिल्ला अस्पताल जाजरकोटमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगन्ज रेफर गरिएको सूचना अधिकारी खड्काले बताए। घाइतेहरूको उद्धारका लागि अस्थायी प्रहरी पोष्ट रावतगाउँबाट प्रहरी सहायक निरीक्षक धर्मराज ढुङ्गानाको नेतृत्वमा पाँच जनाको टोली खटाइएको छ ।

त्यसैगरी, पहिरोबाट भेरी नगरपालिका–३ जाजरकोट स्यालाका पूर्णबहादुर विकको छकोठे दुईतले ढुङ्गामाटोले बनेको कच्ची घर पूर्ण रूपमा क्षति भएको र सोही गाउँका भैरवी केसीका दुईवटा टिनका अस्थायी टहरा पनि पहिरोले पूरै बगाएको उनले बताए।

घटनाको जानकारी पाएलगत्तै जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक राजेश शाहीको नेतृत्वमा ११ जना र सशस्त्र प्रहरी बल नेपाल आश्रित गुल्म हेडक्वार्टरबाट सशस्त्र प्रहरी निरीक्षक कमल कार्की नेतृत्वको १० जनाको टोली उद्धारका लागि परिचालन गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
–––

प्रकाशित: ३१ साउन २०८३ ६:२६ | Sunday, August 16, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast