अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प। फाइल तस्बिर
काठमाडौँ- अमेरिकाको राष्ट्रपति डोनाल्ड ट्रम्पले रणनीतिक रुपमा अत्यन्त महत्वपूर्ण मानिने स्ट्रेट अफ होर्मुजलाई चाँडै अमेरिकी क्षेत्र घोषणा गर्ने चेतावनी दिएका छन्।
न्युयोर्कमा आयोजित एक र्यालीलाई सम्बोधन गर्दै ट्रम्पले यस्तो चेतावनी दिएका हुन्।
तर, इरानले ट्रम्पको यो दाबीलाई पूर्ण रुपमा ‘हास्यास्पद’ भनेको छ।
इरान पराजित भइसकेको दाबी गर्दै राष्ट्रपति ट्रम्पले भने,‘इरानलाई हराएपछि–जो नराम्ररी हारिसकेको छ–हामी चाँडै नै होर्मुज स्ट्रेटलाई अमेरिकी क्षेत्र घोषणा गर्दैछौँ।
हामीले त्यहाँ नाकाबन्दी गरेका छौँ र हाम्रो अनुमतिविना त्यहाँबाट कुनै पनि जहाज आवत जावत गर्द सक्दैन।’
ट्रम्पको यो अभिव्यक्ति सार्वजनिक भएलगत्तै इरानको विदेश मन्त्रालयका वरिष्ठ अधिकारीहरुले कडा प्रतिक्रिया दिएका छन्।
इरानी विदेशमन्त्रालयका संसदीय महानिर्देशक हुसेन नौशाबादीले सरकारी समाचार एजेन्सी आईआरएनएसँग कुरा गर्दैै भने,‘यस्ता हास्यास्पद र विवादस्पद बयान डोनाल्ड ट्रम्प केवल आफ्नो देशका जनतालाई खुसी पानृका लागि मात्रै दिने गरेका छन्।’
नौशाबादीका अनुसार ट्रम्प यतिबेला रणनीतिक दुविधामा परेका छन् र झुटा दाबी गरेर विश्वको ध्यान आकर्षित गर्न खोजिरहेका छन्। उनले इरान र ओमानले शान्तिकालका लागि यस सामुद्रिक मार्गको व्यवस्थापनसम्बन्धी खाका तयार पारिरहेको र यसले इरानको स्थितिलाई स्थिर बनाउने दाबी गरे।
इरानका उपविदेशमन्त्री काजिम गरिबाबादीले सामाजिक सञ्जाल एक्समा ट्रम्पलाई सम्बोधन गर्दै लेखेका छन्,‘जबसम्म तपाईं भ्रममा बाँचिरहनुहुन्छ, इरानले नाकाबन्दी जारी राख्नेछ। होर्मुजलाई कुनै ट्वीट, विमानवाहक जहाज, कार्यकारी आदेश वा चुनावी भाषणबाट कब्जा गर्न सकिँदैन। इरान न त धम्कीसँग डराउँछ, न त शक्तिको प्रदर्शनबाट पछि हट्छ।’


