मोदीद्वारा युवालाई नि:शुल्क कोचिङ र एआई तालिमको घोषणा

हिमाल प्रेस ३० साउन २०८३ १८:५४ | Saturday, August 15, 2026
16
SHARES
मोदीद्वारा युवालाई नि:शुल्क कोचिङ र एआई तालिमको घोषणा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, तस्बिर : एपी
काठमाडौँ- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रतिस्पर्धात्मक परीक्षाको तयारी गर्ने युवाका लागि निःशुल्क अनलाइन कोचिङ कक्षा सञ्चालन गर्ने घोषणा गरेका छन्।युवाको नेतृत्वमा भएको व्यापक विरोध प्रदर्शनपछि शिक्षामन्त्री धर्मेन्द्र प्रधानले राजीनामा दिएको केही सातापछि मोदीले यस्तो घोषणा गरेका हुन्।

भारतको स्वतन्त्रता दिवसका अवसरमा शनिबार नयाँदिल्लीस्थित लालकिल्लाबाट सम्बोधन गर्दै मोदीले निःशुल्क कोचिङले विद्यार्थी र उनीहरूका परिवारमाथिको आर्थिक बोझ कम गर्ने बताए।

‘हामीले युवाका लागि विभिन्न प्रतिस्पर्धात्मक परीक्षाको तयारी गर्न निःशुल्क अनलाइन कोचिङ उपलब्ध गराउने निर्णय गरेका छौँ,’ उनले भने।

मोदीका अनुसार डिजिटल सार्वजनिक पूर्वाधार र दक्ष शिक्षक तथा शिक्षाविद्को उपयोग गरी यस्तो कक्षा सञ्चालन गरिनेछ।

भारतमा चिकित्सा प्रवेश परीक्षासहित विभिन्न प्रतिस्पर्धात्मक परीक्षामा प्रश्नपत्र चुहावट तथा भर्नासम्बन्धी अनियमितताको विरोधमा पछिल्लो समय विद्यार्थीले प्रदर्शन गर्दै आएका थिए।

ती प्रदर्शन गत महिना शिक्षामन्त्री प्रधानको राजीनामापछि अन्त्य भएका थिए।

प्रदर्शनले रोजगारी तथा शैक्षिक अवसरमा पहुँचलाई लिएर भारतीय युवामा रहेको असन्तुष्टि र प्रतिस्पर्धात्मक शिक्षा प्रणालीको चर्को दबाबलाई उजागर गरेको थियो।

भारतमा सरकारी कलेजमा प्रवेशलाई आर्थिक सुरक्षाको महत्वपूर्ण माध्यम मानिने भएकाले विद्यार्थीहरू वषौँसम्म प्रवेश परीक्षाको तयारी गर्ने गरेका छन्।

यसका कारण निजी कोचिङ उद्योग पनि तीव्र रूपमा विस्तार भएको छ। कोचिङको खर्चले विद्यार्थीका परिवारमाथि ठूलो आर्थिक भार पर्ने गरेको छ।

मोदीले निःशुल्क अनलाइन कक्षाले विशेषगरी गरिब र मध्यमवर्गीय परिवारलाई राहत पुग्ने बताए। विद्यार्थीलाई परिवारबाट टाढा गएर महँगो कोचिङ लिनुपर्ने बाध्यता पनि कम हुने उनको भनाइ थियो।

एक करोड युवालाई एआई तालिम

मोदीले आगामी एक वर्षभित्र एक करोड युवालाई आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सम्बन्धी सीपको तालिम दिने योजना घोषणा गरेका छन्।

‘हामीले आगामी एक वर्षभित्र एक करोड युवालाई एआई सीपको तालिम दिने निर्णय गरेका छौँ,’ उनले भने।

विद्यार्थी आन्दोलनपछि सरकारले युवालाई लक्षित गर्दै विभिन्न कदम अघि बढाएको छ। संसदले पनि परीक्षाको प्रश्नपत्र चुहावट गर्नेलाई हुने सजाय बढाएको छ।

आलोचकहरूले सन् २०१४ मा मोदी सरकार सत्तामा आएयता पछिल्ला विद्यार्थी प्रदर्शनलाई सरकारसामु देखिएको महत्वपूर्ण चुनौतीमध्ये एकका रूपमा व्याख्या गरेका छन्।

प्रकाशित: ३० साउन २०८३ १८:५४ | Saturday, August 15, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast