पालुंगो, एलर्जी र कूटनीतिक जीवनका सम्झना

मोहनकृष्ण श्रेष्ठ ६ भदौ २०८३ १३:०६ | Saturday, August 22, 2026
पालुंगो, एलर्जी र कूटनीतिक जीवनका सम्झना

पालुंगो। पालुंगो एउटा हरियो लोकप्रिय साग। सबैले खाएकै छन्, चिनेकै छन्। नेपालीको भान्छामा पाकेकै छ। अंंग्रेजीमा पालुगोलाई स्पिनिच भनिन्छ। वैज्ञानिकहरूले पालुंगोलाई एउटा अत्यन्त पोसिलोे तथा मानव शरीरका लागि उपयोगी सागको रूपमा लिन्छन्। १५ वटा सुपर फुडमध्ये पालुंगो पनि एउट साग। पालुंगोमा आइरन, क्याल्सियम, म्याग्नेसयम, पोटासियम तथा जिन्क, कपर र फोस्फोरस आदि खनिजहरू हुने हुँदा मानव शरीरका लागि अति नै उपयोगी मानिन्छ। हाम्रो देश तथा अन्य कतिपय देशहरूमा पालुंगोलाई तरकारी सलादका रूपमा पनि खाइन्छ।

पालुंगो मिठो वा नमिठो भन्ने कुरा बनाउने तरिकामा भर पर्छ। गल्ने गरी पालुंगो बनाउँदा नमिठो हुन्छ भने आधा पाकेको जस्तै गरी बनाएमा मिठो हुन्छ। हुन त खाना बनाउने वा खाने तरिका आआफ्नै हुन्छ। यसमा कसैले भन्ने कुरै हुँदैन।

यति कुरा गरेपछि पालुंगाको बारेमा किन लेखै लेख्नुपर्‍यो त भन्ने प्रश्न पनि उब्जिन्छ। पालुंगोबारेमा मेरो पनि केही कटु अनुभव भएको र एउटा ज्ञानवर्धक कुरा सबैमा साझा गरे ठिक होला कि भन्ने मनसाय भएकोले यो लेख लेखेको हुँ।

केही दिनअगाडि बिहानको चिया पिउँदै एमएसएन न्युज हेर्दै थिएँ। यो मेरो बिहानको दिनचर्या हो। यसमा विश्वभरका सबै खबरहरूको सारसंक्षेप दिइएको हुन्छ। साथै स्वास्थ्यसम्बन्धी ज्ञानवर्धक खवर पनि पढ्न पाइन्छ। डा. विलियम लीले खानासम्बन्धी एउटा पोस्ट साझा गरेको पाएँ।

यसो हेरेको- चारवटा खाद्य पदार्थ फ्रिजमा राखेर चिसो बनाएपछि फेरि तताएर खानै नहुने, विषसरह नै हुन्छ भनी लेखेको रहेछ। त्यसमध्ये पालुंगो पनि रहेछ। उक्त खबरअनुसार पालुंगो बनाएर फ्रिजमा राखेर तताएपछि त्यसमा ब्याक्टेरिया पैदा भई भयानक रासायनिक प्रतिक्रिया हुने रहेछ।

पालुंगोमा प्राकृतिक रूपमा नाइट्रेट पाइन्छ। अनुचित तापक्रममा लामो समय राख्दा ब्याक्टेरियाको गतिविधिका कारण नाइट्रेट नाइट्राइटमा परिवर्तन हुन सक्छ। त्यसैले पकाएको पालुंगोलाई लामो समय कोठाको तापक्रममा नराखी छिटो चिस्याएर फ्रिजमा राख्नु खाद्य सुरक्षाका दृष्टिले महत्त्वपूर्ण हुन्छ।

एउटा विशेषज्ञ डाक्टरले आफूले जानेका कुरा सबैलाई उपयोगी होस् भन्न हेतुले पोस्ट गरेको होला। मानव शरीरभित्र जाने खाद्यपदार्थ वा पेयपदार्थका बारेमा धेरै थोर जानकारी राख्नु उपयोगी हुन्छ। सबैलाई उही प्रकारको असर पर्छ भन्ने पनि छैन। तर वैज्ञानिक तरिकाले सोधखोज गरी पत्ता लगाएका विवरणचाहिँ गलत नहोला भनी विश्वास गर्न सकिन्छ।

उनले पनि जगतकै भलोका लागि सोचेर पोस्ट गरेका होलान्। यस्ता ससाना जानकारीले पनि हाम्रो जीवनमा ठूलो महत्त्व राख्दछ। खानेकुराबाट एलर्जी हुने व्यक्तिहरू पनि धेरै हुन्छन्। एकजना मेरा नजिकका आफन्तलाई समुद्री खाद्य पदार्थ नहुने रहेछ। एकपल्ट विदेशमा रहँदा मन लागेर लब्सटर खाएको केही समय पनि घाँटी फुलेर आएर झण्डै खुस्केको भनी सुनाउनुभएको यियो। डाक्टरको भनाइअनुसार कतिपय व्यक्तिलाई समुद्री खाद्य पदार्थमा एलर्जी हुन्छ। त्यस्तै पोलेको मासुमा पनि कार्सिनोजेन भन्ने तत्त्व हुन्छ। त्यसबाट कालान्तरमा क्यान्सरजस्तो घातक रोग लाग्न सक्ने भन्ने जानकारी त हालसम्म धेरैलाई थाहा भइसकेको छ।

अब पालुंगोको कुरा गर्दा दुईवटा आफू सम्बन्धित व्यहोरा लेख्न लागेको छु। सन् १९९१ को कुरा हो। त्यसताका म बैंककस्थित नेपाली दूतावासमा प्रथम सचिवका रूपमा कार्यरत थिएँ। पुरानो राजदूत कार्यकाल सकेर फर्कनुभएको थियो। नयाँ नियुक्त भएका राजदूत आइनपुगेकाले अफिसरका रूपमा म र उपसचिव वासुदेव तुफान कार्यवाहक राजदूतका रूपमा कार्यरत हुनुहुन्थ्यो। साह्रै रमाइलो र काम गर्न सजिलो मानिस। खुवाउन र पिलाउन पनि सिपालु। अधिकृतका रूपमा हामी दुई जना मात्र थियौँ। काम राम्ररी भइरहेको थियो।

नोभेम्बर पहिलो साता तत्कालीन बडामहारानी, युवराज, युवराज्ञीहरू बैंककमा भ्रमणमा थिए। शाही परिवार चाओफया नदीको किनारमा अवस्थित अति रमणीय भव्य ओरिन्टल होटलमा बसेका थिए। भोलिपल्ट उहाँहरूलाई दूतावासमा लन्चका लागि निमन्त्रणा गर्‍यौँ। सबै पाहुना आए। बडो रमाइलो वातावरणमा खानपिन भयो। एउटा परिकारमा पालुंगो पनि थियो। भातबाहेक अन्य खाना पहिला नै बनाई फ्रिजमा राखिएको रहेछ। नत्र लन्चका लागि त भ्याइँदैन नि। सबैले रमाएर खायौँ। भलाकुसारी भयो। साँझतिर हामी सो होटलमा गयौँ। कार्यक्रमसम्बन्धी कुराहरू भइराखेको थियो।

शाही सवारीमा मेरा अनन्य मित्र टीका धमला पनि हुनुहुन्थ्यो। उहाँ त्यति बेला शाही पार्श्ववर्ती हुनुहुन्थ्यो। हाम्रो सम्बन्ध अति सुमधुर थियो। उहाँ मिठो वचन बोल्नुहुन्थ्यो। उहाँलाई मेरो बचपनका साथी रविले चिनाइदिएका थिए। एकपल्ट घरमा डिनर खाँदा आमालाई समेत भेट गराएका थिए। त्यो ५० वर्षअघिको घटना हो।

मलाई बिस्तारै पेट दुखेको अनुभव हुन थाल्यो। चिटचिट पसिना आयो। उल्टी होला जस्तो भयो। जिउ पनि चिसो भएर आएको जस्तो भयो। उहाँलाई मेरो अवस्था बताएँ। उहाँले मोहनजी, तपाईँलाई के भयो, अलि बिसन्चो देखिनुभयो नि भन्नुभयो।

बल्लतल्ल शाही मुकामको कोठाबाट तल झरेर शौचालय छिरेँ। मलाई त एकछिन मा इन्तुनचिन्तु बनायो। खलखल पसिना आएको थियो। सुतौँ कि उठौँजस्तो भयो। के भएको हँ यस्तो? कुनै ज्ञान भएन। एक्कासि स्वास्थ्यमा आएको यस परिवर्तनले एकदम गाह्रो पार्‍यो। एक मनले आजै मेरो अन्तिम दिन हो कि जस्तो लाग्यो। अर्काे मनले कहाँ यस्तो होला र! अझ कति कामकुरा गर्नु छ भनी आफैँलाई आश्वस्त पारेँ। ३५ वर्ष त बितिसक्यो त्यो दिनदेखि।

कुनै उपाय गरी ट्याक्सी लिएर सुकुम्भित सोई ५५ मा रहेको अस्पतालमा पुगेँ। त्यहाँका नर्स अंग्रेजी बोल्न जान्दा रहेनछन्। इसाराले के भयो भनी सोधेँ। मैले जानेको शब्द चेप, चेप (दुख्यो, दुख्यो) भनी पेटतिर इसारा गरेर देखाएँ। मलाई खपिनसक्नु पीडा भइरहेको छ। तर उनीहरू खितित्ति हाँसिरहे। मलाई रिस पनि नउठेको होइन। तर के गर्नु? उनीहरूले इन्जेक्सन लगाइदिए। केही समयपछि मेरो जिउभरि फोका उठ्यो। चिलाएर हैरान। हैन यो के भएको!

नर्सहरू पनि डराए। डाक्टरलाई बोलाएर ल्याए। डाक्टरचाहिँ अंग्रेजी बोल्न जान्दा रहेछन्। तिमीलाई दुखाइ कम गर्ने इन्जेक्सनको एलर्जी भएको छ। अनि त्यो भन्दा पहिला फुड प्वाइजनिङ भएको बताए। लन्चमा के के खाएको भनी सोधे। मैले सबै बेलिविस्तार लगाएँ। उनले तिमीलाई स्पिनाच अर्थात् पालुंगोले भएको शंका गरे। अरू मानिस यस्तै समस्या लिएर त्यो अस्पतालमा जाँदा रहेछन्। मैले पनि लन्चमा खाएका खाना सम्झेँ। अब भातले हुँदैन, मासको दालले हुँदैन, खसी, चिकेनले हुँदैन, गोलभेडाको अचारले हुँदैन। पक्का यही पालुंगोले यस्तो समस्या आएको होला भनेर निर्क्यौल गरेँ। डाक्टरको भनाइ पनि त्यही रह्यो। केही घण्टापछि अलि आराम भयो र डाक्टरले अब घर गए हुन्छ भनेपछि फर्केँ।

अब पालुंगोको रमाइलो कुरा पनि गरूँ। सन् १९९९ मा मेरो पोस्टिङ टोकियोस्थित नेपाली दूतावासमा भयो। बिस्तारै पुरानो तथा नयाँ साथीसँग आवतजावत हुन थाल्यो। घरमा पाहुना पनि धेरै आउने र मित्रमण्डली पनि अलि ठूलै भएकाले पार्टी नहुने त दिन नै नहुने। एक दिन त राजदूत महोदयले पनि भन्नुभयो- ‘ए मोहनजी! तपाईँको घरमा कति खाना बन्छ हँ? मेरो त घरको भन्दा ग्यासको रकम दोब्बर पर्छ।’ मैले भनेँ, ‘के गर्ने सर? आफन्त र मित्रहरू आइरहन्छन्। कूटनीतिक वृत्तका मित्र पनि थुप्रै छन्। उनीहरूले बोलाएपछि मैले पनि बोलाउनुपर्ने नै हुन्छ।’ उहाँ हाँस्नुभयो।

जापान पनि गेडागुडी खाने देश हो। मैले क्वाँटीको दाल बनाएर धेरै व्यक्तिलाई ख्वाएँ। सबैले एकदम रुचाएका थिए। अनि म आफैँले पनि एउटा राम्रो परिकार तयार गरेँ। त्यो परिकार थियो पालुंगो र अण्डाको। स्थानीय बजारमा पालुंगो राम्ररी सफा गरी मिलाएर काटेर प्लास्टिकको बक्समा बेच्न राखिन्थ्यो।

पालुंगो ल्याएपछि केही क्षण हावामा राखी चिसो कम भएपछि तुरुन्त बनाउन मिल्ने खालको हुन्थ्यो। सजिलो थियो। पालुंगो बनायो। त्यसमा नुन र मरीचको मिश्रण छर्क्यो, अदुवाको पेस्ट हाल्यो, तयार। त्यसलाई अण्डाकारको रिकापीमा सजाएर वरिपरि अण्डाको स्लाइसले सजाउँदा एकदम राम्रो देखिन्छ। पाहुनाले खुब रुचाउँथे। यो कुन ठूलो रेसिपी थियो र! तर पनि पाहुनाले कसरी बनाएको भनी पटकपटक सोधनी गर्दथे। यसरी घरमा नेपाली परिकारले धेरैलाई स्वागत गरियो। एक दिन छोरी पढ्ने अमेरिकी स्कुलका शिक्षिकालाई पनि निमन्त्रणा गरी डिनर ख्वाएँ। उहाँहरू पनि नेपाली खाना खाएर खुसी हुँदै जानुभयो।

अन्तमा एउटा अर्काे कुरा थप्छु। चिकेनले पनि एलर्जी हुँदो रहेछ। बैंकक बसाइताका मेरो एपार्टमेन्टमा एकजना गण्यमान्य व्यक्ति केही दिन बस्न आउनुभएको थियो। उहाँले चिकेन खानासाथ बायाँ हातको उपल्लो भागतिर भुरुरुरु मसिना फोका देखापरेका थिए। उहाँ आफैँले प्रयोग गरी मलाई देखाउनुभएको कुरा अझै याद छ।

प्रकाशित: ६ भदौ २०८३ १३:०६ | Saturday, August 22, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + 20 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast