काठमाडौँ- नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा फेरि सक्रिय राजनीतिको केन्द्रमा फर्किएका छन्। स्वास्थ्य उपचारका लागि लामो समय सिंगापुर बसेर बिहीबार स्वदेश फर्किएका देउवाले आफ्नै समूहका नेताहरूले व्यवस्थापन गरेको चुनदेवीस्थित सम्पर्क कार्यालयमा सभापति लेखिएको च्याम्बरमा बसेसँगै कांग्रेसको आन्तरिक शक्ति संघर्ष नयाँ चरणमा प्रवेश गरेको हो।
देउवाको पुनरागमन पूर्वसभापतिको सक्रियतामा सीमित छैन। बिहीबारको उनको शैलीले त्यस्तै देखायो। उनको च्याम्बरमा राखिएको सभापतिको नेमप्लेट र त्यसपछिका राजनीतिक गतिविधिले उनी आफूलाई अझै कांग्रेसको वैधानिक सभापति मानिरहेको संकेत दिएको छ।
यसले सानेपास्थित कांग्रेस मुख्यालयबाट पार्टी सञ्चालन गरिरहेका सभापति गगन थापासँग समानान्तर नेतृत्वको अवस्था सिर्जना गरेको छ।
जेनजी आन्दोलनमा आफ्नै निवासमा घाइते देउवाले गत कात्तिक १० गते उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिँदै सक्रिय राजनीतिबाट बिदा लिएका थिए। तत्कालीन महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहित पार्टीभित्रबाट नेतृत्व परिवर्तनको दबाब बढेपछि उनले सक्रिय राजनीतिबाट अलग हुने सन्देश दिएका थिए। तर, त्यसयता कांग्रेसमा भएको विशेष महाधिवेशन, नेतृत्व परिवर्तन र त्यसविरुद्धको कानुनी प्रक्रियाले देउवालाई पुनः सक्रिय हुने राजनीतिक आधार दिएको उनको समूहको बुझाइ छ।
कांग्रेसमा अहिलेको मुख्य विवाद पार्टी नेतृत्वमा को भन्नेमा केन्द्रित हुँदै गएको छ। संस्थापन पक्षले विशेष महाधिवेशनबाट नेतृत्व परिवर्तन भइसकेकाले देउवा निवर्तमान सभापति मात्र भएको दाबी गर्दै आएको छ। देउवा पक्ष भने १४औँ महाधिवेशनबाट निर्वाचित नेतृत्वलाई विशेष महाधिवेशनले विस्थापित गर्न नसक्ने तर्कसहित देउवालाई नै सभापति मानिरहेको छ।
देउवा पक्षको राष्ट्रिय भेला आजदेखि सुरु भएको छ। आयोजक समितिका संयोजक तथा पूर्वमहामन्त्री डा.शशांक कोइरालाले बिहीबार पार्टीको सभापति अझै देउवा नै भएको दाबी गरेका छन्। उनका अनुसार देउवाको सभापति पदमा फर्किन कुनै कानुनी अवरोध छैन।
यो दाबीलाई थप बल दिएको विषय सर्वोच्च अदालतले विशेष महाधिवेशनसँग सम्बन्धित विवादमा पुनःपरीक्षणको निस्सा दिएको घटनालाई बनाइएको छ। देउवा पक्षले यसलाई विशेष महाधिवेशनबाट भएको नेतृत्व परिवर्तनमाथि पुनःकानुनी परीक्षणको बाटो खुलेको रूपमा व्याख्या गरेको छ। पुनःपरीक्षणको निस्सा प्राप्त हुनु र देउवा स्वतः सभापति कायम हुनु एउटै कुरा हो कि होइन भन्ने प्रश्न अझै राजनीतिक तथा कानुनी बहसकै विषय छ।
देउवा स्वदेश फर्किएपछि कांग्रेसभित्र देखिएको सबैभन्दा महत्त्वपूर्ण दृश्य भनेको दुई फरक शक्ति केन्द्रको उदय हो। सानेपास्थित केन्द्रीय कार्यालयबाट गगन थापाको नेतृत्वमा पार्टी गतिविधि अघि बढिरहेको छ भने चुनदेवीबाट देउवा समूहले समानान्तर गतिविधि सञ्चालन गर्न थालेको छ।
यसले कांग्रेसभित्रको विवादलाई नेतृत्वको व्यक्तिगत प्रतिस्पर्धाबाट संस्थागत वैधानिकताको प्रश्नमा रूपान्तरण गरेको छ। पार्टीको आधिकारिक कार्यालय, सांगठनिक संरचना, क्रियाशील सदस्यता र आगामी महाधिवेशनको प्रक्रिया कसले नियन्त्रण गर्ने भन्ने प्रश्न अब नेतृत्व विवादसँग जोडिएको छ।
देउवाको पुनरागमनसँगै १४औँ महाधिवेशनमा देउवासँग प्रतिस्पर्धा गरेका डा.शेखर कोइराला निकट नेताहरूमा समेत नयाँ समीकरणको सम्भावना देखिएको छ। यसले संस्थापन पक्षसँगको शक्ति सन्तुलन बदल्न सक्ने देउवा पक्षको आकलन छ।
कांग्रेसको विवादको अर्को महत्वपूर्ण पाटो आगामी १५औँ महाधिवेशन हो। संस्थापन पक्षले महाधिवेशनको प्रक्रिया अघि बढाइसकेको छ भने देउवा पक्षले विशेष महाधिवेशनबाट आएको नेतृत्वलाई नै अस्वीकार गर्दै नियमित महाधिवेशनको प्रक्रियामा जोड दिएको छ।
विशेषगरी क्रियाशील सदस्यताको अध्यावधिक अहिले विवादको केन्द्रमा छ। देउवा पक्षले विशेष महाधिवेशनका आधारमा भएको नेतृत्व परिवर्तनलाई नै प्रश्न उठाउँदै नियमित महाधिवेशनको प्रक्रिया सर्वस्वीकार्य बनाउनुपर्ने माग गरिरहेको छ। संस्थापन पक्ष भने विशेष महाधिवेशनबाट भएको राजनीतिक तथा सांगठनिक परिवर्तनलाई संस्थागत गर्दै अघि बढ्ने पक्षमा देखिन्छ।
पार्टीको सदस्यता कसरी अद्यावधिक गर्ने, महाधिवेशनको वैधानिक प्रक्रिया कसरी अघि बढाउने, विशेष महाधिवेशनबाट भएका निर्णयको हैसियत के हुने र पार्टीको आधिकारिक संरचना कसले सञ्चालन गर्ने भन्ने प्रश्न एकअर्कासँग जोडिएका छन्।
बिहीबार देउवाले आफू शक्ति प्राप्तिका लागि नभई राष्ट्रिय एकता सुदृढ गर्न आएको बताए। उनले सरकारलाई जनताको परिवर्तनको आकांक्षा सम्बोधन गर्न आग्रह गर्दै राजनीतिक आग्रह पूर्वाग्रहबाट टाढा रहन सुझाव पनि दिए। तर उनको राजनीतिक सक्रियताको प्रारम्भिक दृश्यले भने शक्ति संघर्षबाट आफू पूर्णतः अलग नरहेको संकेत गरेको छ।
सभापतिको नेमप्लेटसहित च्याम्बरमा बस्नु र आफ्नो समूहको राष्ट्रिय भेलालाई सम्बोधन गर्नुले उनको पुनरागमनलाई औपचारिक राजनीतिक सक्रियताभन्दा धेरै अर्थपूर्ण बनाएको छ। यसको अर्को अर्थ पनि छ, देउवा अब कांग्रेसको विगतका सभापति मात्र भएर बस्न चाहिरहेका छैनन्। उनी आफ्नो राजनीतिक हैसियतलाई वर्तमान नेतृत्वसँग जोडेर पुनः स्थापित गर्न खोजिरहेका छन्। यही कारण उनको पुनरागमनले कांग्रेसको आन्तरिक राजनीतिमा तत्कालै प्रभाव पारेको हो।
संस्थापन पक्षका लागि देउवाको पुनरागमन असन्तुष्ट समूहको सक्रियता होइन। विशेष महाधिवेशनपछि नयाँ नेतृत्वलाई संस्थागत गर्ने क्रममा रहेको गगन नेतृत्वको कांग्रेसले अब पुरानो संस्थापन शक्तिको पुनर्संगठन सामना गर्नुपर्ने भएको छ।
सभापति थापाले भने देउवालाई पूर्वप्रधानमन्त्री तथा पूर्वसभापतिको हैसियतमा स्वागत गर्दै पार्टीको वैधानिक परिवर्तनलाई संस्थागत गर्न अभिभावकीय भूमिका निर्वाह गर्ने अपेक्षा व्यक्त गरेका छन्। यो अभिव्यक्तिले संस्थापन पक्षले देउवालाई वर्तमान नेतृत्वको प्रतिस्पर्धीभन्दा निवर्तमान नेतृत्वका रूपमा स्थापित गर्न खोजेको देखिन्छ।
तर देउवा पक्षको गतिविधिले यही व्याख्यालाई चुनौती दिएको छ। यसकारण आगामी दिनमा कांग्रेसभित्रको मुख्य राजनीतिक संघर्ष वैचारिकभन्दा बढी संगठनात्मक र वैधानिक हुने सम्भावना देखिन्छ। देउवा पक्षले राष्ट्रिय भेलाको सन्देश पार्टी एकता र नियमित महाधिवेशन रहेको बताएको छ। तर, समानान्तर कार्यालय, समानान्तर नेतृत्वको दाबी र विशेष महाधिवेशनको वैधतामाथिको प्रश्नले तत्कालका लागि एकताभन्दा ध्रुवीकरणलाई नै बल दिने जोखिम बढाएको छ।


