काठमाडौँ- पश्चिम कोलम्बियामा आएको शक्तिशाली भूकम्पपछि ३६ घण्टासम्म भग्नावशेषमा थुनिएकी एक ३२ वर्षीया महिलालाई जीवित उद्धार गरिएको छ।
डेनियला लार्गो नाम गरेकी महिलालाई पेरेइरा सहरमा भत्किएको भवनको भग्नावेशषबाट १० घण्टा लामो उद्धार अभियानपछि उद्धार गरिएको हो।
उद्धारकर्मीहरूले चारवटा ठूला पक्कीको स्ल्याबमुनि थिचिएकी लार्गोसम्म पुग्न सुरुङ खनेका थिए।
कोलम्बियाको कफी उत्पादक क्षेत्रमा रहेको पेरेइरा सहरमा ७९ जनाको मृत्यु भएको पुष्टि भइसकेको छ।
लार्गोकी आमालाई उद्धृत गर्दै समाचार एजेन्सी एएफपीले जनाएअनुसार स्थानीय बासिन्दाले भग्नावेशमुनिबाट उनकी छोरीले गुहार मागेको आवाज सुनेका थिए।
आधिकारिक तथ्यांकअनुसार पश्चिम कोलम्बियामा आएको भूकम्पमा परी कम्तिमा १८८ जनाको मृत्यु भएको छ भने सयौँ मानिस अझै बेपत्ता छन्।


