आईसीसी लिग २ मा पुछारमा रहेको यूएईको जित, नेपालभन्दा कति अंकले पछाडि छ?

हिमाल प्रेस २७ साउन २०८३ १०:३३ | Wednesday, August 12, 2026
आईसीसी लिग २ मा पुछारमा रहेको यूएईको जित, नेपालभन्दा कति अंकले पछाडि छ?

काठमाडौँ- संयुक्त अरब इमिरेट्स (यूएई) ले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत क्यानडालाई ९७ रनको फराकिलो अन्तरले पराजित गरेको छ। स्कटल्यान्डको डन्डीस्थित फोर्थिल मैदानमा क्यानडाका कप्तान साद बिन जफरले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेका थिए। पहिले ब्याटिङ गरेको यूएईले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै २८२ रनको बलियो योगफल खडा गर्‍यो। जवाफमा २८३ रनको लक्ष्य पछ्याएको क्यानडा ३३.४ ओभरमा १८५ रनमै समेटिन पुग्यो।

क्यानडाका बलर कलिम सनाले दुवै ओपनर आर्यन शर्मा र अदिव उस्मानीलाई सस्तैमा पभेलियन फर्काए। राहुल चोपडाले टोलीलाई संकटबाट उकास्दै उत्कृष्ट शतक प्रहार गरे। उनले ११८ बलमा १५ चौका र १ छक्काको मद्दतमा अभिजित १२७ रनको विष्फोटक पारि खेले।

उनलाई कप्तान हरप्रित सिंह भाटियाले ७९ बलमा ८१ रन बनाउँदै बलियो साथ दिए। दुवैबीच चौथो विकेटका लागि ११६ बलमा १०९ रनको महत्त्वपूर्ण साझेदारी भएको थियो।

क्यानडाका लागि बलिङतर्फ कलिम सनाले ३ विकेट लिए भने जाहिद सिर्जादले २ विकेट लिए। २८३ रनको विजयी लक्ष्य पछ्याएको क्यानडाको ब्याटिङ लाइनअप युएईका बलरसामु निरिह देखियो। एरोन जोन्सनले ७३ बलमा ७० रनको एकपक्षीय लडाइँ लडे पनि टोलीका अन्य शीर्ष क्रमका ब्याटरहरू क्रिजमा टिक्न सकेनन्।

अन्त्यतिर जाहिद सिर्जादले आक्रामक ब्याटिङ गर्दै टोलीको हारको अन्तर मात्र घटाए। उनले मात्र २३ बलमा अर्धशतक पूरा गर्दै २६ बलमा ४ चौका र ५ छक्काको मद्दतमा ५४ रनको विष्फोटक पारि खेले। यूएईका बलरहरूमध्य मोहम्मद जवादुल्लाहले ७ ओभरमा ३६ रन खर्चेर ३ विकेट लिए भने मोहम्मद अरफानले ६ ओभरमा २४ रन दिएर २ विकेट हात पारे।

यस जितका बाबजुद युएई लिग-२ को अंक तालिकाको पुछारमै सीमित छ। यूएईले २८ खेलबाट ८ जितसहित १८ अंक जोडेको छ। त्यसभन्दा अगाडि नेपाल छ। नेपालले हालसम्म ३२ खेलबाट २४ अंक बटुलेको छ। नेपालभन्दा यूएईले कम खेल खेलेको छ। यूएईले लगातार जित निकाल्न सके नेपाल पुछारमा धकेलिने छ।

अर्कोतर्फ, पराजित क्यानडा ३१ खेलमा १० जित र २५ अंकसहित तालिकाको छैटौँ स्थानमा रहेको छ।

प्रकाशित: २७ साउन २०८३ १०:३३ | Wednesday, August 12, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast