कुशलको शतक, नेपालद्वारा अमेरिका पराजित

हिमाल प्रेस २ जेठ २०८३ १५:४९ | Saturday, May 16, 2026
14
SHARES
कुशलको शतक, नेपालद्वारा अमेरिका पराजित

काठमाडौँ– ओपनर कुशल भुर्तेलको शतक सहयोगमा विश्वकप लिग २ को खेलमा अमेरिकामाथि नेपालले सहज जित हात पारेको छ। त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबार सम्पन्न खेलमा नेपालले अमेरिकामाथि नौ विकेटको जित हात पारेको हो। अमेरिकाले दिएको १९६ रनको मध्यम लक्ष्य नेपालले ३६.४ ओभरमा एक विकेट गुमाएर पूरा गरेको थियो।

नेपालको जितमा ओपनर कुशलले ११८ बलमा १३ चौका र ४ छक्काको सहयोगमा अविजित रहँदै सर्वाधिक १२० रनको शतकीय इनिङ्स खेलेका छन्। कुशलले पहिलो विकेटका लागि अर्का ओपनर आसिफ सेखसँग मिलेर १४५ रनको शतकीय साझेदारी गरे। आसिफ ७२ बलमा ५८ रनको अर्धशतकीय इनिङ्स खेल्दै आउट भए।

यसै खेलबाट ओडीआई डेब्यु गरेका ईशान पाण्डे २० रनमा अविजित रहे। अमेरिकाका लागि मोहम्मद मोहसिनले एक विकेट दिलाए।

त्यसअघि टस जितेर ब्याटिङ गरेको अमेरिकाले ४३.३ ओभरमा सबै विकेट गुमाएर १९५ रनको योगफलमा समेटिएको थियो। अमेरिकाका लागि ओपनर स्मित पटेलले ८९ बलमा आठ चौका र तीन छक्काको सहयोगमा सर्वाधिक ८३ रनको अर्धशतकीय इनिङ्स खेलेका थिए। आसिफ सेखले सोमपाल कामीको बलमा पटेललाई आउट गराएका थिए। स्मित १४ रनमा हुँदा सोमपालको बलमा आसिफले सहज क्याच छुटाएका थिए।

सहान जयसूर्याले ५२ बलमा ५० रनको अर्धशतकीय इनिङ्स खेल्नुबाहेक अमेरिकाका अन्य ब्याटर क्रिजमा टिक्न सकेनन्। जयसूर्या र स्मितले दोस्रो विकेटका लागि १०० रनको शतकीय साझेदारी पूरा गरेको अर्को बलमा नेपाली टिमका उपकप्तान दीपेन्द्रसिंह ऐरीले विकेट लिदै विस्फोटक बन्दै गरेको साझेदारी तोडेका थिए।

अमेरिकाका अन्य ब्याटर चल्न नसक्दा अमेरिका सस्तैमा समेटिएको हो। मिलान्द कुमार र पछिल्लो क्र्रममा ब्याटिङमा आएका हरमित सिंहले मात्र दोहोरो अंकमा रन बनाउँन सफल भए। मिलान्दले ४१ बलमा २८ रनमा आउट हुँदा हरमित १४ रनमा आउट भए। अमेरिकाका कप्तान साइतेजा मुक्कामल्ला सहितका सात ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।

नेपालका लागि उपकप्तान दीपेन्द्रसिंह ऐरीले चार, सोमपाल कामीले दुई तथा सन्दीप लामिछाने र गुल्सन झाले समान एम विकेट आफ्नो नाममा गरे। अमेरिकाका दुई ब्याटरलाई नेपालले रन आउट गराएको थियो। जितपछि नेपाल आठ राष्ट्र सहभागी लिग २ मा २० अंकका साथमा सातौँ स्थानमा छ। अमेरिका भने पराजित हुदै ३६ अंकका साथ दोस्रो स्थानमा छ।

प्रकाशित: २ जेठ २०८३ १५:४९ | Saturday, May 16, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast