पोखरा- पोखरा–बागलुङ सडकखण्डअन्तर्गत पोखरा–२५, हेमजामा मंगलबार मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु भएको छ। मोटरसाइकल चालक घाइते छन्।
कास्कीको घट्टेखोलाबाट पोखरातर्फ आउँदै गरेको ग १४ प २५१७ नम्बरको मोटरसाइकल दिउँसो १ बजे हेम्जा म्याग्दीचोकमा दुर्घटना भएको हो।
दुर्घटनामा परी मोटरसाइकलको पछाडि सवार म्याग्दीको धौलागिरी–२, लुलाङ बस्ने १६ वर्षीय अनिल विकको मृत्यु भएको हो।
दुर्घटनामा उनीसहित मोटरसाइकल चालक १८ वर्षीय दिनेश विकसमेत गम्भीर घाइते भएका थिए।
दिनेश पनि म्याग्दीको धौलागिरी–२, लुलाङकै हुन्।
तीमध्ये अनिलको उपचारका क्रममा मणिपाल शिक्षण अस्पतालमा दिउँसो २ बजेर १० मिनेटमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, कास्कीका सूचना अधिकारी डीएसपी वीरेन्द्रकुमार पासवानले जानकारी दिए।
घाइते मोटरसाइकल चालक दिनेशको बायाँ खुट्टा, बायाँ आँखा र मुखमा चोट लागेको छ। उनी हल्का बोल्न सक्छन्।
प्रारम्भिक अनुसन्धानमा मोटरसाइकल तीव्र गतिका कारण अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनायो। मोटरसाइकल अस्थायी प्रहरी पोस्ट, हेमजाको नियन्त्रणमा छ।


