इजरायली प्रधानमन्त्री नेतान्याहुद्वारा ट्रम्पको १५ बुँदे शान्ति योजना अस्वीकार

हिमाल प्रेस २५ साउन २०८३ ९:२२ | Monday, August 10, 2026
4
SHARES
इजरायली प्रधानमन्त्री नेतान्याहुद्वारा ट्रम्पको १५ बुँदे शान्ति योजना अस्वीकार

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले गाजाका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अघि सारेको १५ बुँदे शान्ति योजनालाई अस्वीकार गरिदिएका छन् ।

आइतबार आयोजित मन्त्रिपरिषद् बैठकमा बोल्दै प्रधानमन्त्री नेतान्याहुले विद्रोही समूह हमास ‘वास्तविक’ रूपमा निशस्त्रीकरण नभएसम्म इजरायली सेना गाजाबाट फिर्ता नहुने स्पष्ट पारेका हुन् ।

ट्रम्पको ‘बोर्ड अफ पीस’ ले गत महिना हमास र गाजाका अन्य सशस्त्र समूहहरूको पूर्ण निशस्त्रीकरणका लागि सहमति जुटेको दाबी गरे पनि इजरायलले त्यसलाई अपर्याप्त मानेको छ ।

यता हमासले भने आफ्नो तर्फबाट भारी हतियार बुझाउने कार्य इजरायलले गर्ने सबै प्रकारका सैन्य आक्रमणको अन्त्य र गाजाबाट इजरायली सेनाको पूर्ण फिर्तीमा निर्भर रहने बताएको छ ।

गत अक्टोबरमा भएको प्रारम्भिक युद्धविरामपछि पनि इजरायलले गाजामा निरन्तर सैन्य कारबाही जारी राखेको छ । नेतान्याहुले १५ बुँदे दस्ताबेजलाई अस्वीकार गर्दै इजरायली सैन्य शक्तिले आफ्ना नागरिक र फौजको सुरक्षाका लागि कुनै पनि खतरालाई विफल तुल्याउन जारी राख्ने दृढता व्यक्त गरेका छन् ।

हमासका एक अधिकारीले आइतबार बीबीसीसँग कुरा गर्दै आफूहरू ट्रम्पको योजनाप्रति प्रतिबद्ध रहेको र यसलाई गम्भीरतापूर्वक कार्यान्वयन गर्न तयार रहेको बताएका छन् ।

उनले मध्यस्थकर्ताहरूलाई सबै पक्षले सहमति पालना गर्ने वातावरण बनाउन आग्रह समेत गरेका छन् । प्रधानमन्त्री नेतान्याहुको यो पछिल्लो अभिव्यक्तिले गत सेप्टेम्बरमा ट्रम्पले घोषणा गरेको शान्ति योजनामा ठूलो चुनौती थपिदिएको छ । उक्त योजनामा गाजाको पुनर्निर्माण, इजरायली सेनाको फिर्ती र हमासको निशस्त्रीकरण जस्ता मुख्य बुँदाहरू समावेश थिए ।
प्रधानमन्त्री नेतान्याहुको यो अडानलाई उनको राजनीतिक बाध्यताका रूपमा पनि हेरिएको छ । इजरायलमा केही महिनापछि हुन लागेको निर्वाचन र उनको सरकारमा सहभागी दक्षिणपन्थी गठबन्धनका सदस्यहरूको दबाबका कारण उनी नरम देखिन चाहेका छैनन् ।

विशेषगरी राष्ट्रिय सुरक्षा मन्त्री इटामार बेन गभिर जस्ता कट्टरपन्थी नेताहरूले यो योजनालाई अस्वीकार्य भन्दै मन्त्रिपरिषद्मा नयाँ मतदानको माग गरिरहेका छन् । नेतान्याहुले अमेरिकी अधिकारीहरूसँग छलफल भइरहेको र इजरायलको हित विपरितका कुरामा आफू अडिग रहने बताएका छन् ।

शान्ति योजना कार्यान्वयनका लागि खटिएका वरिष्ठ कूटनीतिज्ञ निकोलाय म्लादेनोभले भने यो योजना अक्टोबर ७, २०२३ को जस्तो आक्रमण दोहोरिन नदिने एकमात्र उपाय भएको भन्दै यसको बचाउ गरेका छन् । उनले इजरायललाई यो प्रक्रियालाई एक मौका दिन आग्रह गर्दै हमासले निशस्त्रीकरणको कदम चालेको पुष्टि नभएसम्म इजरायलले सेना फिर्ता गर्न नपर्ने प्रावधान रहेको स्पष्ट पारेका छन् ।

संयुक्त राष्ट्र संघका अनुसार यस युद्धका कारण गाजाको ९० प्रतिशत जनसंख्या विस्थापित भइसकेको छ भने ७३ हजारभन्दा बढी मानिसको मृत्यु भइसकेको छ ।

प्रकाशित: २५ साउन २०८३ ९:२२ | Monday, August 10, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast