काठमाडौँ- संयुक्त अरब इमिरेट्स (यूएई) ले सामरिक हिसाबले संवेदनशील स्ट्रेट अफ होर्मुजबाट गइरहेको आफ्नो तेल ट्यांकरमाथि इरानले मिसाइल आक्रमण गरेको दाबी गरेको छ।
बीबीसीका अनुसार यूएईको परराष्ट्र मन्त्रालयले शनिबार विज्ञप्ति निकालेर यो जानकारी दिएको हो।
आबुधाबी नेसनल आयल कम्पनी (एडीएनओसी) को तेल ट्यांकरमाथि आक्रमण भएको विज्ञप्तिमा भनिएको छ।
मन्त्रालयले आक्रमणबाट कुनै मानवीय क्षति वा कोही घाइते नभएको बताएको छ।
क्षेत्रीय तनाव र द्वन्द्व सुरू भएयता होर्मुज स्ट्रेट भएर आवतजावत गर्ने आफ्ना जहाजहरू लगातार निशानमा पर्दै आएको कम्पनीले जनाएको छ।
एडीएनओसीका अनुसार हालसम्म उसका १५ वटा जहाजहरूले मिसाइल तथा ड्रोन आक्रमणको सामना गरिसकेका छन्।
जहाजहरूमाथि भएका यी १५ वटा आक्रमणमध्ये तीनवटा घटना पछिल्लो एक हप्ताभित्रै घटेको कम्पनीले जानकारी दिएको छ।
अन्तर्राष्ट्रिय जलक्षेत्रमा भइरहेका यस्ता आक्रमणले समुद्री सुरक्षा ऊर्जा आपूर्तिमा थप जोखिम बढाएको छ।


