माङसेबुङका ११ विद्यालयमा लिम्बू र वान्तवा भाषा अनिवार्य

हिमाल प्रेस २३ साउन २०८३ ७:४९ | Saturday, August 8, 2026
4
SHARES
माङसेबुङका ११ विद्यालयमा लिम्बू र वान्तवा भाषा अनिवार्य

इलाम- जिल्लाको माङसेबुङ गाउँपालिकाले ११ वटा सामुदायिक विद्यालयमा लिम्बू र वान्तवा भाषा अनिवार्य गरेको छ ।

गाउँपालिकाले राई समुदायका विद्यार्थीको बाहुल्य रहेका तीनवटा विद्यालयमा यसै शैक्षिक सत्रदेखि वान्तवा भाषा तथा लिम्बू समुदायका विद्यार्थीको बाहुल्य रहेका थप तीनवटा विद्यालयमा लिम्बू भाषा पाठ्यपुस्तक अनिवार्य विषयका रूपमा लागू गरेको हो ।

यसअघि चारवटा विद्यालयमा लिम्बू र एउटा विद्यालयमा वान्तवा भाषा अध्यापन हुँदै आएको थियो । शिक्षा शाखा प्रमुख बुद्धिप्रसाद खतिवडाका अनुसार माङसेबुङ–२ स्थित सरस्वती आधारभूत विद्यालय, माङसेबुङ–४ स्थित जनता आधारभूत विद्यालय र माङसेबुङ–६ स्थित सिंहेश्वरी आधारभूत विद्यालयमा यस वर्षदेखि वान्तवा भाषा पाठ्यपुस्तक लागू गरिएको हो । यसअघि माङसेबुङ–६ स्थित चिसोपानी माध्यमिक विद्यालयमा मात्र वान्तवा भाषा पठनपाठन हुँदै आएको थियो ।

यसैगरी, माङसेबुङ–१ स्थित गजुरमुखी आधारभूत विद्यालय र मण्डिका आधारभूत विद्यालय तथा माङसेबुङ–३ स्थित दुर्गा माध्यमिक विद्यालयमा यस वर्षदेखि लिम्बू भाषा पाठ्यपुस्तक लागू गरिएको छ ।

यसअघि माङसेबुङ–३ स्थित पवित्रा आधारभूत विद्यालय तथा माङसेबुङ–५ स्थित साम्जिक मुन्धुम आधारभूत विद्यालय, सरस्वती माध्यमिक विद्यालय र साम्जिक मुन्धुम पाठशालामा लिम्बू भाषा पढाइ हुँदै आएको थियो ।

मातृभाषा लागु भएका विद्यालयमा गाउँपालिकाले आन्तरिक स्रोतबाट तलबभत्ता उपलब्ध गराउने गरी शिक्षक दरबन्दी सिर्जना गरेर शिक्षकको व्यवस्था गरेको छ ।

गाउँपालिका अध्यक्ष हेमन्त राईले प्रत्येक समुदायलाई आफ्नो मातृभाषामा विद्यालय तथा शैक्षिक संस्था सञ्चालनको अधिकार संविधानले दिएको सम्झाउँदै सोहीअनुसार मातृभाषा शिक्षालाई प्राथमिकता दिइएको बताए ।

‘हामीले नयाँ शैक्षिक संस्था त खोलेनौं, सामुदायिक बाहुल्य भएको विद्यालयमा मातृभाषा शिक्षकको दरबन्दी सिर्जना गरी मातृभाषा पाठ्यपुस्तक लागु गरेर पठनपाठन गराएका हौं’, अध्यक्ष राईले भने ।

मातृभाषा शिक्षा लागू नभएका अन्य विद्यालयमा स्थानीय पाठ्यपुस्तक ‘हाम्रो माङसेबुङ’ अध्यापन हुँदै आएको छ ।

माङसेबुङ गाउँपालिकाले गत जेठ १२ गतेदेखि गाउँपालिकाभर लिम्बू भाषालाई सरकारी कामकाजको भाषा घोषणा गरी लागु गरेको छ ।

प्रकाशित: २३ साउन २०८३ ७:४९ | Saturday, August 8, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast